सरकार र उपनिर्वाचनको समीक्षा गर्न स्थायी कमिटी बैठक बस्दै

शुक्रबार, मंसिर २०, २०७६



नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पार्टीभित्र सक्रियता बढाएका छन्।

पार्टीका वरिष्ठ नेताहरूसँगको भेटघाटदेखि पार्टीका बैठकसमेत राख्न थालेका छन्। कार्यकारी अधिकार पाएपछि दाहाललाई पार्टीभित्र केही सहज भएकाले नेताहरूसँगको भेटघाट पनि बाक्लिदै गएको छ।

कार्यकारी भूमिका पाएलगत्तै दाहालले सक्रियता पनि बढाएका हुन्। पार्टीभित्र लामो समयदेखि असन्तुष्ट रहेका माधव नेपाललाई भेटघाट र छलफल गरेका छन्। नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलाई आफ्नै निवासमा बोलाएर पार्टी एकता र आगामी रणनीतिबारे छलफल गरेका छन्।

अध्यक्ष दाहालले सचिवालय बैठक २३ गते बोलाएका छन्। उनको अध्यक्षतामा २३ गते दोस्रो बैठक बस्नेछ। २३ गतेको बैठकपछि सरकार र उपनिर्वाचनको समीक्षा गर्न स्थायी कमिटीको बैठक बोलाउने तयारी गरिएको छ।

गत बर्ष मंसिर २९ गते देखि पुस १२ गतेसम्म स्थायी कमिटीको बैठक बसेको थियो। त्यसयता स्थायी कमिटीको बैठक बसेको छैन। ‘अब बस्ने सचिवालय बेठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने सम्भावना छ,’ एक सचिवालय सदस्यले भने, ‘सरकार पार्टीको समीक्षा गर्नका लागि पनि स्थायी कमिटीको बैठक आवश्यक छ भने राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारको छलफल लगायतका विषयलाई ध्यान दिएर स्थायी कमिटीको बैठक बस्नुपर्नेछ।’

स्रोतका अनुसार अब बस्ने स्थायी कमिटीको बैठक प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली अस्पतालबाट निवास फर्केपछि बस्नेछ र सो बैठकमा ओली दाहाल दुवैले अध्यक्षता गर्नेछन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments