ओलीको सहमतिमा नेकपा सचिवालयको बैठक बस्दै

बुधबार, मंसिर १८, २०७६



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

केहीबेरमा पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठक नियमित बैठककै रुपमा बोलाइएको होे । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् । दुई अध्यक्षबीच ४ मंसिरमा ओलीले सरकार र दाहालले पार्टी हाँक्ने सहमति भएको थियो ।

२०७५ जेठ ३ मा तत्कालीन एमाले–माओवादी केन्द्रबीच पार्टी एकता भएयता पार्टी र सरकार चलाउने विषयमा जिम्मेवारी बाँडबाँडमा बहस चल्दै आएको थियो ।

सचिवालय बैठकमा स्थायी समिति र केन्द्रीय समितिको बैठक राख्ने विषयमा समेत छलफल हुने बताइएको छ । यस्तै भर्खरै सम्पन्न उपनिर्वाचनमा आएको परिणामबारे पनि छलफल हुने अनुमान गरिएको छ ।

नेकपाभित्र लामो समयदेखि पार्टी स्थायी समिति र केन्द्रीय समिति बैठक बस्न सकेको छैन ।

केन्द्रीय समिति पार्टी एकताको १८ महिनामा एकपटक निर्वाचन आयोगमा दल दर्ताका लागि बसेको थियो भने स्थायी समितिको बैठक गत वर्षको १९ मंसिरदेखि १३ पुस सम्म बसेको थियो । त्यसयता बैठक बस्न सकेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata