नेकपा सचिवालय बैठक बस्दै, मन्त्रीको टुंगो लगाइने

बुधबार, मंसिर ४, २०७६



काठमाडौं । नयाँ मन्त्रीहरुको नामावली टुंगो लगाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजे बैठक बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीले हिजो(मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकमा बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गरेका थिए।  बैठकमा ओलीले आफूले नयाँ कदम चाल्न लागेको भन्दै बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिएका थिए ।

यो बैठकबाट पुनर्गठित मन्त्रिपरिषदमा रहने सदस्यहरुको टुंगो लाग्ने अनुमान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेर गर्दैछन् । तर, शपथ ग्रहणको समय भने टुंगो लागेको छैन ।

सचिवालय बैठकअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच छुट्टै छलफल हुँदैछ । प्रचण्डको सचिवालय स्रोतका अनुसार प्रचण्ड बिहान नौ बजे ओलीलाई भेट्न बालुवाटार जाँदैछन् । यो भेटमा प्रचण्डले पूर्वमाओवादीको तर्फबाट मन्त्री बन्नेहरुको सूची प्रधानमन्त्रीलाई दिने बताइएको छ ।

पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन । नेकपाको ३२ वटा केन्द्रीय विभाग गठन भए पनि सचिव र सदस्यहरु चयन हुन सकेका छैनन् । आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata