देशकै लाइफलाइन मानिने ‘नौबीसे-नागढुंगा’को जाम हट्यो

सोमवार, अशोज १३, २०७६



काठमाडौं । दशैँ नजिकिएसँगै नौबीसे-नागढुंगा सडकमा बढेको सवारी चाप कम भएको छ । लगातारको जामबाट यात्रुले सास्ती खेपेपछि प्रहरीले अप्रेसन टोली नै परिचाल गरेपश्चात  सवारी आवागमन सहज बन्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, शनिबारदेखि सुध्रँदै गएको नागढुंगा-नौबीसे सडक खण्डमा अहिले जाम छैन । सोमबार बिहानैदेखि जाम पूर्णरूपमा हटेको र सवारी साधनहरु सहज ढंगले गन्तव्यतर्फ अघि बढेको कार्यालयको भनाइ छ ।

दशैंको मुखमा जीर्ण सडक मर्मत नगरिँदा देशकै लाइफलाइन मानिने नौबीसे-नागढुंगा सडक केही दिन अस्तव्यस्त बनेको थियो । यात्रुहरूले यो खण्डमा दिनमै १२ घण्टासम्म जाम व्यहोरेका थिए । जामकै कारण एक बिरामीको ज्यानसमेत गएको थियो ।

समस्या आए प्रहरीलाई फोन गर्नुस्

यात्राको दौरानमा कुनै समस्या आएमा कार्यालयको कन्ट्रोल रुमको टेलिफोन नं. ०१०-५२०१९९, ९८५१२८३४८० मा सोझै गुनासो गर्न पनि कार्यालयले यात्रुहरूलाई आग्रह गरेको छ ।

त्यस्तै, प्रहरी उपरीक्षक राजकुमार बैदवारको ९८५१२४५५५५, कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रूपक खड्काको ९८५१२२९८६० र अप्रेसन कमाण्डर अधिकारीको ९८५१२५५७७७ मोबाइल नम्बरमा सम्पर्क गरेर पनि आफ्ना गुनासो बिसाउन कार्यालयले यात्रुहरूलाई आग्रह गरेको छ । पृथ्वी राजमार्गको सडक खण्डमा रहेका विभिन्न प्रहरी कार्यालयहरूले पनि यात्रुहरूलाई सघाउने कार्यालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata