नासाको मिसन जुनोले पत्ता लगायो बृहस्पतिको चुम्बकीय क्षेत्रमा आएको परिवर्तन

पृथ्वीको चुम्बकीय क्षेत्रको अनुसन्धानमा सहायता पुग्ने

मङ्लबार, जेष्ठ १४, २०७६



एजेन्सी । नासाको मिसन जुनोले करिब ६७ ओटा उपग्रह भएको बृहस्पतिको चुम्बकीय क्षेत्रमा आएको परिवर्तनबारे जानकारी सार्वजनिक गरेको छ । सन् २०११ मा पृथ्वीबाट छुटेको जुनोले ग्यासीय पिण्ड बृहस्पतिको सेकुलर भेरिएसन (समयको केही खास अन्तरालमा ग्रहको चुम्बकीय क्षेत्रमा देखिने परिवर्तन) का लागि बृहस्पतिको सतहमा चल्ने हावाको शक्तिशाली बहाव मुख्य कारण भएको निश्चित गरेको छ । जुनो बृहस्पतिलाई घुम्ने एक भूउपग्रह हो ।

यो अनुसन्धानले बृहस्पतिको आकाशीय अवस्थिति तथा आन्तरिक बनावटका साथै पृथ्वीको चुम्बकीय क्षेत्रमा आउने परिवर्तनको बारेमा पनि पत्ता लगाउन सघाउ पुग्ने  नेचर एस्ट्रोनोमी पत्रिकामा सार्वजनिक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

Still from an animation illustrates Jupiter's magnetic field This still from an animation illustrates Jupiter’s magnetic field at a single moment in time.

चुम्बकीय क्षेत्रको परिवर्तनका बारेमा पत्ता लगाउनु केही दशक देखिको वैज्ञानिकहरुको प्रमुख ध्येय रहेको जुनोका अनुसन्धाता प्रमुख तथा साउथ वेस्ट रिसर्च इन्स्टिच्युटका प्रमुख स्कट बोल्टनले बताउँछन् । यो अनुसन्धान निश्चित मापन गर्ने वैज्ञानिक उपकरण तथा बृहस्पतिको वरिपरि एक ध्रुवदेखि अर्को ध्रुवसम्म घुमिरहने जुनोको सहायताले गरिएको हो ।

ग्रहको चुम्बकीय क्षेत्रको अवस्थिति पत्ता लगाउन ग्रहको सबैभन्दा नजिकमा रहेको उपकरणको आवश्यकता पर्छ । जुनो मिसनका वैज्ञानिकले बृहस्पतिसम्बन्धी अघिल्लो मिसन पायोनियर १० र ११, भोएजर १ र युलिसेसको तथ्यांकसँग तुलना गरेर बृहस्पतिको चुम्बकीय क्षेत्रमा भएको परिवर्तनबारे पत्ता लगाएका हुन् ।

तीन प्रकारले चुम्बकीय क्षेत्रको नक्सा मापन गर्ने क्षमता भएको म्याग्नेटोमिटर र विभिन्न वैज्ञानिक अनुसन्धानबाट प्राप्त डाटाका आधारमा बृहस्पतिको नयाँ चुम्बकीय क्षेत्रको एक खाका तयार पारिएको छ । चुम्बकीय क्षेत्रको नयाँ खाकालाई जेआरएम ०९ नाम दिइएको छ ।

पायोनियर अन्तरिक्ष यान र जुनोले उपलब्ध गराएको बृहस्पतिको चुम्बकीय क्षेत्रसम्बन्धी तथ्यको विश्लेषण गर्दा चुम्बकीय क्षेत्रमा थोरै तर स्पष्ट परिवर्तन भेटिएको वैज्ञानिकहरुको भनाइ रहेको छ ।

‘केही क्षणमा हुने परिवर्तन पत्ता लगाउन जति कठिन हुन्छ, त्यस्तै बृहस्पतिको चुम्बकीय क्षेत्रमा आएको परिवर्तन पत्ता लगाउनु ठूलो चुनौती थियो,’ हार्भर्ड विश्वविद्यालयका जुनो मिसनमा आबद्ध वैज्ञानिक किमी मूरले बताए । उनले भने, ‘एक आधार तय गरेर गरिएको चार दशकको अनुसन्धानमा जुन तथ्य फेला परेको छ, त्यसले बृहस्पतिको चुम्बकीय क्षेत्रमा समयसँगै निकै परिवर्तन आएको स्पष्टरुपमा देखाएको छ ।’

बृहस्पतिको भूमध्यरेखा नजिक चुम्बकीय क्षेत्रको संकेतका लागि देखाइएको एक ठूलो नीलो विन्दु जति व्यापक छ, त्यति नै बृहस्पतिको सेकुलर भेरिएसन पनि ठूलो छ । चुम्बकीय क्षेत्रको संकेत गर्ने ठूलो नीलो विन्दु र बलियो हावाको बहावको संयोगले नै बृहस्पतिको दुनियाँमा चुम्बकीय क्षेत्रको विशाल परिवर्तन ल्याउँछ ।

“यो निकै आश्चर्यजनक छ कि नीलो विन्दुले संकेत गरिएको ग्रहको एक सानो क्षेत्र पूरै बृहस्पतिको चुम्बकीय क्षेत्रको परिवर्तनको लागि कारण हो ।”, मूरले भने । चुम्बकीय क्षेत्रसम्बन्धी यो नयाँ बुझाइका साथ हामीले विज्ञानको भविष्यका लागि बृहस्पतिको चुम्बकीय परिवर्तनको पूरा नक्सा तयार गर्न सक्छौं । यो पृथ्वीको चुम्बकीय क्षेत्रको अनुसन्धानका लागि पनि मार्गदर्शक बन्न सक्छ र यसले धेरै रहस्यलाई उद्घाटन गर्न सहायता पुर्याउने मूरको भनाइ छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata