नेपालीको मन जित्न भारतीय प्रधानमन्त्री मोदीले लगाए ‘आइडीया’

शनिबार, बैशाख २९, २०७५



काठमाडौँ । मासको भावना अनुसार आफूलाई प्रस्तुत गर्न सिपालु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय सभा गृहमा उपस्थित नेपालीको मन जित्ने प्रयास गरे । उनले सम्बोधन नेपालीमा सुरु गरेर शुद्ध बोले । जतिबेला उपस्थितहरूको तालीले हल गुन्जिएको थियो ।

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा मोदीले सम्बोधनको क्रममा नेपाली कला, संस्कृतिलगायत पक्षको उजागर गर्दै भारत साथ नेपाली जनतामा रहेको बताए । त्यतिबेला पनि मोदीलाई सहभागीहरूले तालीले स्वागत गरे ।

मञ्चमा र हलमा उपस्थितहरूलाई उनले नेपालीमै अभिवादन गरे । त्यसपछि उनको भाषण हिन्दीमा सुरु भयो । नेपालको विषयबस्तुलाई पसिनोगरी केलाएर प्रस्तुत भएको उनको भाषण र नेपाली जनताको तालीले स्पष्ट झल्कन्थ्यो । मोदीले नेपाल गौतम बुद्धको भूमि, सर्वोच्च शिखर सगरमाथाको भूमि, हजारौँ मन्दिरको शहर काठमाडौँ, हस्तकलाको धनी लगायत विविधि विषयमा विश्वमा पहिचान बनाउन सफल भनेर हिन्दीमै भाषण गर्दा तालीले हल गुन्जियो ।

उनले पशुपति नाथ, जानकी मन्दिर, मुक्तिनाथ दर्शन गर्न पाउनु सौभाग्य भएको समेत बताए । उनले सरकारीस्तरमा मात्र नभइ जनस्तरमा समेत नेपाल–भारत सम्बन्ध उच्च कोटीमा रहेको तर्क समेत गरे ।

नेपालको समृद्धिका लागि जस्तोसुकै सहयोग गर्न भारत तयार

मोदीले नेपालको आर्थिक विकास र समृद्धिका लागि नेपालकै आवश्यकता र प्राथमिकतामुताबिक जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताए ।

काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको सम्मान कार्यक्रममा नागरिक अभिनन्दन ग्रहणपछि सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालले आफ्नो प्राथमिकता र आवश्यकताका आधारमा तय गर्ने कार्यक्रमलाई सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताए ।

उनले भने ‘नेपालको खुशी भारतको खुशी हो । नेपालको सफलता र खुशीका लागि हरतरहको आवश्यकतामा भारतको साथ रहन्छ ।’

उनले विकास र समृद्धिको यात्रामा नेपालसँग काँधमा काँध मिलाएर अगाडि बढ्न आफू तयार रहेको उल्लेख गर्दै रेलमार्ग, सडकमार्ग, एकीकृत जाँच चौकी, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन जस्ता विषयहरू अगाडि बढिसकेको प्रष्ट पारे ।
उनले भने ‘नेपालको समृद्धि र विकासका लागि पर्वतारोहीलाई शेर्पाले सहयोग पु¥याए जस्तै भारत शेर्पा भएर काम गर्न तयार छ ।’

काठमाडौँलाई रेलमार्गबाट भारतसँग जोड्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम शुरु भएको जानकारी दिदै उनले सो कार्य छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

एकै वर्षमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचन गरी लोकतान्त्रिक सरकार गठन गरेकामा सो कार्यको सराहना गर्दै उनले अब लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै सुखी नेपाली र समृद्ध नेपाल बनाउने माहोल बनेको धारणा व्यक्त गरे ।

‘राजा जनकको शस्त्र तोड्ने र स्नेह जोड्ने’ भावना विश्वका लागि नै प्रेरणाको स्रोत बन्न पुगेको प्रधानमन्त्री मोदीको कथन थियो ।

आफू बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका लागि उपयुक्त समयमा पुनः नेपाल आउने वचनबद्धता प्रकट गर्दै उनले ‘आफूले भ्रमण गरेका जनकपुरधाम, पशुपतिनाथ र मुक्तिनाथ केवल महत्वपूर्ण तीर्थस्थल मात्र नभई नेपाल र भारतबीचको सम्बन्धको पर्वतमाला हुन्’ भने ।

नेपालको प्राकृतिक र सांस्कृतिक सम्बन्धका बारेमा काव्यात्मक शैलीमा प्रस्तुत हुनु भएका प्रधानमन्त्री मोदीले नागार्जुन र शिवपुरी जंगल, बागमती नदी, हजारौं मन्दिर, मञ्जुश्री गुफा, बौद्ध विहार, कला र संस्कृति रहेको काठमाडौँलाई विश्वको अनौठो शहरको रुपमा चित्रण गरे ।

उनले भने ‘पश्चिमतिर धौलागिरि, अन्नपूर्ण र अर्कोतर्फ सगरमाथा र कञ्चनजंगा रहेका छन् । यस्तो दृश्य विश्वमा कही पनि सम्भव छैन । त्यो केवल काठमाडौँमा मात्रै रहेको छ ।’

कलात्मक साँचो हस्तान्तरण
मेयर विद्यासुन्दर शाक्यले भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौँ महानगरपालिकाको कलात्मक साँचो हस्तान्तरण गरे । भारतका प्रधानमन्त्री मोदीका लागि काठमाडौँको ढोका सधैं खुला छ भन्ने सन्देश सो साँचोले बोकेको छ । शाक्यले उपहार स्वरुप प्रधानमन्त्री मोदीलाई बुद्धको ५० किलोग्रामको कलात्मक मूर्ति र मयूर झ्याल प्रदान गरे ।

समारोहमा संघीय सरकारका मन्त्रीहरु, प्रदेश नं ३ का मुख्यमन्त्री, कूटनीनिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

136 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank