पार्टीको पर्चाकार होइन आलोचनात्मक चेतसहितको पत्रकार आवश्यक- प्रवक्ता श्रेष्ठ

आइतवार, फाल्गुन २५, २०७६



काठमाडौं । नेकपाका सचिवालय सदस्य तथा पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकार असफल भएमा मुलुकमा प्रतिगमन हुने बताएका छन् ।

ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यो सरकार असफल भए कुनै न कुनै ढंगबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा उत्पन्न हुने बताए ।

सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्न पार्टी एकता भएको उल्लेख गर्दै उनले रणनैतिक समाजवादको आधार तयार गर्नु नै अहिले पार्टीको मुख्य कार्यभार भएको बताए ।

नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ बाटोका साथमा अघि बढ्दै गएको उनको भनाई छ । उनले कतिपय पुँजीपति वर्गले र साम्राज्यवादी शक्तिहरु असफल बनाउन गिद्धेनजरले हेर्दै असफलता बनाउन लागि परिरहेकाले सजग हुन आवश्‍यक रहेको समेत बताए ।

पार्टी सचिवालय सदस्य समेत रहेका श्रेष्ठले अध्ययन नै क्रान्तिकारी पत्रकार हुने उल्लेख गर्दै उनले मुलुक रुपान्तरण गर्न कुनै पार्टी र गुटको नभई राम्रो पत्रकार हुनुपर्नेमा जोड दिए ।

श्रेष्ठले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्कालै पार्टी र सरकारलाई तिव्र गतिका साथ अघि बढाउन सक्षम हुने विश्‍वास व्यक्त गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments