गुणस्तर उत्पादन नगर्ने ६ वटा उद्योग कार्बाहीमा

शनिबार, असार १३, २०७७



काठमाडौं । गुणस्तर अनुरुप उत्पादन नगर्ने ६ वटा उधोग कार्बाहीमा परेका छन ।

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर उत्पादन नगर्ने रिलायन्स सुपरटेक सिमेन्ट प्रालि बारा, इन्टरनेसनल सिमेन्ट प्रालि पर्सा, एभरेस्ट ग्यास उद्योग प्रालि चाल्नाखेल काठमाडौं, अग्नि सिमेन्ट उद्योग प्रालि रुपन्देही, सर्वोत्तम सिमेन्ट प्रालि नवलपरासी र कमला रोलिङ्ग मिल्स मोरङलाई कारबाही गरेको हो ।

शुक्रबार विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नपाएको भन्दै कारबाही गरेको जनाएको छ ।

जसमा रिलायन्स सिमेन्ट र इन्टरनेसनल सिमेन्टको इजाजतपत्र रद्द गर्नुका साथै एभरेस्ट ग्यास उद्योगको प्रमाणपत्र स्थगन गरिएको छ । यस्तै, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कमला रोलिङ्ग मिल्सलाई स्पष्टीकरण सोधिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नेपाल गुणस्तर मापदण्डअनुसार नरहेका उद्योगलाई नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसार कारबाही गरिएको जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments