हामीलाई नक्सा छाप्न निर्देशन आएको छैन- नापी विभाग

सोमवार, मंसिर २, २०७६



काठमाडौं । भारतले नेपालको भुमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि देशभर यसको विरोध हुँदै आइरहेको छ । केही दिन अघि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरा समेटेर नयाँ नक्सा बनाउन निर्देशन समेत दिईसकेको छ ।

यद्दपी नापी विभागले भने नक्सा छाप्नका लागि आफूहरुलाई नभनिएको जनाएको छ । विभागका महानिर्देशक प्रकाश जोशीले आफूहरुलाई सरकारले भनेपछि मात्रै नक्सा छापिने बताउँदै कुनै निर्देशन नआएको जनाए ।  महानिर्देशक जोशीले  भने, ‘‘कुटनीतिक संवादको कुरा सरकारको माथिल्लो तहबाट गर्ने हो । हामीलाई प्राविधिक सहयोग मागेको अवस्थामा मात्रै सो सम्बन्धी सहयोग गर्ने हो । माथि के भइरहेको छ हामीलाई थाहा हुँदैन ।’’

हिजो(आइतबार) एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा सच्याउनुभन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण रहेको बताएका थिए ।  उनले कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिएको जनाउँदै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘‘हामी नक्सा सच्याउनुभन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौं ।’’ उनले सो अवसरमा नेपालमा रहेका भारतीय सेना फिर्ता लग्न पनि आग्रह गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata