आज नागपञ्चमी, नागपूजा गर्नुको पछाडी वैज्ञानिक कारण पनि छन् !

सोमवार, साउन २०, २०७६



काठमाडौं । हिन्दु धर्म र संस्कार अनुसार प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने गरिन्छ । ‘जुन घरमा नागको बास हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ’ भन्ने धार्मिक विश्वासका साथ सनातन हिन्दुहरूले नागपञ्चमी पर्व परम्परा अनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी नागपञ्चमी मनाइँदैछ ।

नागलाई पानी र वर्षाका देवता रुपमा लिइन्छ । यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरु पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।

धार्मिक ग्रन्थहरू गरुण पुराण, स्कन्द पुराण, नारद पुराण, भविष्य पुराण र वराह पुराणमा नागको पूजा, अर्चनाबारेमा उल्लेख भएको पाइन्छ । वैदिकलगायत बौद्ध र जैन धर्मावलम्बीले पनि नागपूजा गर्ने प्रचलन रहेको पाइन्छ ।

नागपूजा विशेषतः षष्ठीयुक्त पञ्चमी तिथि अर्थात (षष्ठी तिथिलाई छोएको पञ्चमीका दिन) गर्नाले नागदेवता खुसी हुने र उदय पञ्चमी तिथिमा नै नागपूजा गर्ने परम्परासमेत रहिआएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

नागपूजा किन गरिन्छ ?

“यत्राहिसायिभगवान् यत्रास्त हरिरीष्वरः । भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ।।”

अर्थात, आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवानको चित्र टाँसी पूजा गर्नाले बज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ ।

कुण्डलीमा राहु, केतुको दोष भएकाहरुले पनि आजको दिनमा विधिवत् रुपमा भगवान शिवको पूजा गरेमा अथवा नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर  जीवनमा सुख मिल्ने धार्मिक विश्वास छ ।

पुजा विधि :

नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाई धूपधुवाँ गर्ने तथा आफ्ना कुलनागका थानहरूमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ ।

नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकोले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ । त्यस्तै नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ ।

नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा घरको मूलद्वारमा नागको चित्र टाँसी पूजा गरेपछि गृहस्थीले क्रमशः नागपूजा गर्ने परम्परा रहेको छ ।

नागपूजा गर्नुको वैज्ञानिक कारण :

नागपुजाको पछाडी विभिन्न धार्मिक महत्वहरु रहेता पनि यसको पछाडी वैज्ञानिक कारणहरु भेटिन्छन । नागपूजा गर्नु परम्परागत मूल्य मान्यतालाई स्वीकार्दै धार्मिक विश्वासको जगमा टेकेर अन्धविश्वासी बन्नु मात्रै होइन । यसको आफ्नै वैज्ञानिक महत्व पनि छ ।

प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानव लगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभावबाट  मुक्त गर्न सरीसृप प्राणीकाे ठूलाे भूमिका रहेकाे हुन्छ। पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगकाे लागि औषधि बन्ने वैज्ञानिक तथ्य पनि छ ।

सर्प रहेमात्र हामी मान्छे जीवित र स्वस्थ रहन सक्छौं । मान्छे मात्र होइन, चराचर जगतको सन्तुलन मिल्छ । सर्पको यही महिमालाई बुझाउन नाग पञ्चमी मनाउने गरिएको हो ।

भगवानहरुको नाग अवतार :

भगवान शिवले नागको माला लगाउने र भगवान विष्णु जलमाथि शेष नागको शैयमा फणको छातामुनि शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो । प्रथम पूजाको अधिकार पाएका भगवान गणेशको एक हातमा नाग छ । भगवान विष्णुको अवतारको रुपमा लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।

नागपञ्चमीका दिन  काठमाडौं, नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको रूपमा परिचित काठमाडौंकै टौदह, ललितपुर धापाखेलको नाग दह, भक्तपुरको सिद्धपोखरी, पनौतीलगायत अधिराज्यका विभिन्न नाग दहमा मेला लाग्ने गर्दछ । 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata