म्यान्मारमा हराईरहेको विमान दुर्घटनाग्रस्त अवस्थामा अन्दमान सागरमा फेला

बिहिबार, जेष्ठ २५, २०७४



काठमाडौं । म्यान्मारमा बुधवार हराएको सैनिक विमान अन्दमान सागरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको म्यान्मार सेनाले पुष्टि गरेको छ ।

विमानका केही भाग र दुई वयस्क तथा एक बालकको शव स्थानीय समयअनुसार बिहीवार बिहान सबा ८ बजे भेटिएको हो । लाइफ ज्याकेट र लगेजहरू पनि भेटिएका छन् । राखिने राज्यको क्याउक नी मावभन्दा १४ माइल पश्चिममा विमानको भग्नावशेष भेटिएको र उद्धार कार्य जारी रहेको सेनाले बताएको छ ।

विमानमा १२२ जना सवार थिए । विमान माइक नामक स्थानबाट उडान भरेको २९ मिनेटमा सम्पर्कविहीन भएको थियो । यो राजधानी यांगोनतर्फ गइरहेको थियो र नियमित उडानको क्रममा थियो । विमानमा सवार १२२ मध्ये १०८ यात्रु थिए भने १४ जना विमान कर्मचारी थिए । पन्ध्र बालबालिका र ५८ सर्वसाधारण हराइरहेका छन् ।

बाँकी सबै सैनिक हुन् । अठार हजार फीट माथि उडिरहेको विमान सम्पर्कविहीन हुन पुगेको थियो । जलसेनाका नौ जहाजहरू र तीन विमानले अन्दमान सागरमा विमानको खोजी गरिरहेका छन् । हावाहुरीका कारण विमान दुर्घटना भएको हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments