बेलायतका लागि नेपाली पूर्वराजदूत शर्माको निधन

बिहिबार, माघ २, २०७६



काठमाडौं । बेलायतका लागि नेपाली पूर्वराजदूत मुरारीराज शर्माको हृदयघातका कारण निधन भएको छ । लन्डन पट्‌नीमा बस्दै आएका ६८ वर्षीय शर्माको मंगलबार बिहान पौने ११ बजे घरमै निधन भएको शर्माका आफन्त एवं दूतावासका पूर्व कर्मचारी अनिल अधिकारीले जानकारी दिए ।

 सन् २००७ नोभेम्बर देखि २००९ अप्रिलसम्म शर्मा लन्डनस्थित नेपाली दूतावासमा १८ औं राजदूतका रुपमा कार्यरत थिए । शर्माको शव लन्डन टुटिङस्थित सेन्ट जोर्ज अस्पतालमा राखिएको छ ।  शर्मा श्रीमती निलाका साथ लन्डनमा बस्दै आएका थिए ।

२२ फेब्रुअरी, २००८ मा उनले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । उनले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर न्युयोर्कमा समेत काम गरेका थिए ।

पूर्व परराष्ट्र सचिवसमेत रहेका शर्माले अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयमा पनि काम गरेका थिए । सन् १९७७ मा निजामती सेवा प्रवेश गरेका शर्मा सन् १९९२ देखि परराष्ट्र मन्त्रालयमा थिए ।

गत सेप्टेम्बर २००८ मा राष्ट्रसंघको महासभामा भाग लिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल जर्मनी हुँदै न्यूयोर्क जान लागेका बेला परराष्ट्र मन्त्रालयले जर्मनीको फ्रयांकफर्ट शहरमा युरोपस्थित नेपाली राजदूतहरुको भेला आयोजना गरेको थियो । तर त्यसको अर्को दिन लन्डनमा नेपालका पर्यटनमन्त्रीको कार्यक्रम रहेको भन्दै शर्मा उक्त सम्मेलनमा गएनन् ।

त्यसपछि उनलाई नेपाल सरकारले पदावधि पूरा नहुँदै फिर्ता बोलाएको थियो । फिर्ता बोलाइएपछि शर्मा सुरक्षाका कारण भन्दै नेपाल नफर्की लन्डनमै बसेका थिए । उनले बेलायतमा राजनीतिक शरणार्थीको आवेदन दिएपछि कूटनीतिक वृत्तमा निकै चासो र आश्चर्यजनक रुपमा हेरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments