दूधे बालकको गर्धन रेटेर हत्या

बुधबार, बैशाख २५, २०७६



धनुषा । धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरमा अढाई वर्षको बालकको घाँटी रेटी हत्या गरिएको छ । शम्भु साहका छोरा आर्यन मंगलबार बिहान गर्धन रेटिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनी सोमबार साँझपख घरबाट हराएका थिए ।

 साँझपख घरमै खेलिरहेका छोरालाई छोडेर आमा रेणु नजिकैको धारामा पानी लिन गएकी थिइन् । रेणुका अनुसार एकैछिनमा पानी लिएर फर्कँदा छोरा घरमा थिएनन् ।

भर्खर हिँड्न सिकेको दूधे बालकलाई घरमा नदेखेपछि स्याल, कुकुरले घिसारेर लग्यो कि भन्ने शंका लागेर उनले नजिकका बाँसघार र खेतबारी सबैतिर खोजिन् । खोजीमा आफन्त र छिमेकी पनि दौडादौड गर्न थाले ।

घरमा र छिमकमा जताततै खोज्दा पनि छोरा फेला नपरेपछि इलाका प्रहरी कार्यालय ढल्केवरलाई खबर गरियो । छिमेकी त रातिको खाना खाएर सुते तर रेणु भने छोराका चिन्ताले रातभर सुतिनन् ।

रेणु, उनका दुई छोरी र आफन्तले रातभर खोज्दा पनि भेटिएनन् आर्यन । प्रहरी पनि आफ्नै तरिकाले खोजीमा लागेको थियो । रातभर खोज्दा नभेटिएका आर्यन मंगलबार बिहान घरनजिकै मृत अवस्थामा फेला परे । घरदेखि करिब ७५ मिटर दूरीमा उनको शव थियो । गर्धन रेटिएको थियो ।

हराएदेखि खोजीका क्रममा दर्जनौंपटक परिवारका सदस्य, आफन्त र छिमेकी ओहोरदोहोर गरेको ठाउँमा शव थियो ।
घटनाको मिहिन तरिकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित  छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata