मुम्बई इन्डियन्स चौथो पटक च्याम्पियन !

सोमवार, बैशाख ३०, २०७६



एजेन्सी । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतवार राजीव गान्धी इन्टरनेसनल स्टेडियममा भएको फाइनलमा चेन्नईलाई १ रनले हराउँदै मुम्बई आइपीएल इतिहासमा चौथो पटक च्याम्पियन बनेको हो।

सन् २००८ बाट शुरु भएको आईपीएलमा मुम्बईले २०१३, २०१५ र २०१७ मा उपाधी उचालेको थियो । योसँगै मुम्बई आईपीएलको सबैभन्दा सफल टिम बनेको छ ।  २०१७ मा फाइनल जितेको मुम्बईले राइजिंग पुने सुपरजाइन्ट्सलाई निराश पारेको थियो ।

गत वर्षसहित तीनपटक आईपीएल च्याम्पियन बनेको चेन्नई यसपटक उपविजेतामै चित्त बुझाउन बाध्य भयो । गत सिजनमा सनराइजर्स हैदराबादलाई हराउँदै चेन्नईले आइपीएल उपाधि जितेको थियो ।

अन्तिम ओभरमा चेन्नईलाई जितका लागि ६ बलमा ९ रन चाहिएको थियो र क्रिजमा शेन वाट्सन ७६ र रविन्द्र जडेजा ४ रनमा खेलिरहेका थिए। तर लासिथ मालिंगाले बलिङ गरेको उक्त ओभरमा चेन्नईले २ विकेट गुमायो भने ७ रन मात्र बनाउन सक्यो।

मालिंगा अन्तिम ओभरमा ९ रन डिफेण्ड गर्दै मुम्बईलाई १ रनको रोमाञ्चक जित दिलाए। यस सिजन मुम्बईले चेन्नाईविरुद्ध खेलेको ४ वटै खेल समेत जित्यो।

राजिव गान्धी इन्टरनेशनल स्टेडियम, हैदरावादमा मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १४९ रन बनाएको थियो।

जवाफमा वाट्सनले ८० रन बनाएपनि चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १४८ रन बनायो। अन्तिम ओभरमा वाट्सनको रनआउट चेन्नईको लागि महङ्गो सावित बन्यो।

वाट्सनले ५९ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे। यस्तै फाप डु प्लेसिसले २६ र ड्वाने ब्राभोले १५ रन जोडे।

चेन्नईलाई लक्ष्यसम्म पुग्न नदिन मुम्बईका जसप्रित बुमराहले ४ ओभरमा १४ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै क्रुनल पाण्ड्या, मालिंगा र राहुल चाहरले १-१ विकेट लिए।

शुरुको ३ ओभरमा ४२ रन खर्चिएपनि मालिंगाले अन्तिम ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै १ विकेट लिएर खेल जिताए।

त्यसअघि मुम्बईका लागि किरण पोलार्डले २५ बलमा ३ चौका र ३ छक्कको मद्दतमा नटआउट ४१ रन बनाएपछि मुम्बईले १४९ रन बनाएको थियो। यस्तै क्वेन्टन डे ककले २९ तथा इशान किसानले २३ रन जोडे।

चेन्नाईका दिपक चाहरले ४ ओभरमा १ मेडन राख्दै २६ रन खर्चेर ३ विकेट लिए। यस्तै शार्दुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank