खशोग्जी हत्या: साउदी युवराजमाथि आरोप

शनिबार, मंसिर १, २०७५

अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआर्इएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्जीको हत्या गर्न निर्देशन गरेको विश्वास गर्छ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, उक्त निकायका निकट स्रोतहरूका अनुसार उसले विस्तृत प्रमाणहरूमा आफ्नो पहुँच पुर्याएको थियो।

ठोस प्रमाण नभएको बुझिए पनि अमेरिकी अधिकारीहरूले त्यस्तो कदमका लागि युवराजको स्वीकृति चाहिने ठान्छन्।  साउदी अरेबियाले भने त्यस्तो दाबीलाई गलत भनेको छ र युवराजलाई उक्त हत्याको योजनाबारे केही थाहा नभएको दोहोर्याउँदै आएको छ।

 

वीवीसीका अनुसार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले शनिबार खशोग्जीका हत्यारालाई उम्कन नदिने बाचा गरेका थिए। पपुवा न्यू गिनीमा भएको एउटा सम्मेलनपछि बोल्दै उनले खशोग्जीको हत्याका जिम्मेवार सबैलाई जवाफदेही बनाउन अमेरिका प्रतिबद्ध रहेको बताए। साउदी पत्रकार खशोग्जीको अक्टोबर २ तारिखका दिन इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा हत्या गरिएको थियो। उनको शव अझै फेला परेको छैन।

टर्कीले उक्त हत्याका लागि उच्च तहहरूबाट निर्देशन आएको दाबी गर्दै आएको छ। खशोग्जीले काम गरेको पत्रिका द वासिङ्टन पोष्टले सीआर्इएको मूल्यांकन आंशिक रुपमा साउदी युवराजका भाइ खालेद बीन सलमानको फोनको कुराकानीमा आधारित रहेको जनाएको छ।

खालेद बीन सलमान अमेरिकाका लागि साउदी राजदूतसमेत हुन्। आफ्ना दाइको निर्देशनमा खालेदले खशोग्जीलाई फोन गरी महाबाणिज्य दूतावास जान सुरक्षित रहेको भनी आश्वासन दिएको आरोप उनीमाथि लगाइएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata