एउटै घरमा भेटियो हजारभन्दा बढी हातहतियार

बिहिबार, बैशाख २६, २०७६



लस एन्जेल्स । अमेरिकाको लस एन्जेल्स सहरको धनाढ्यहरुको वस्तीको एक घरमा हजारभन्दा बढी हातहतियार र बन्दुक भेटिएको छ । गैरकानुनी रुपमा हातहतियार निर्माण तथा बिक्री भइरहेको आशंकामा प्रहरीले छापा मार्दा सो हात–हतियार भेटिएको हो ।

अमेरिकाका दुई सुरक्षा एजेन्सीले संयुक्त रुपमा बुधबार बिहान ४ बजे सो घरमा  छापा मारेका थिए । सर्च अपरेसनमा अमेरिकाको ‘ब्युरो अफ अल्कोहल, टोबाको, फायरआर्म एण्ड एक्स्प्लोसिभ्स’ र लस एन्जेल्स प्रहरी विभाग संलग्न थिए ।

घटनास्थलबाट एक जना पक्राउ परेका छन् । ती सबै हातहतियारको आरोपीसँग लाइसेन्स नभएको जनाइएको छ । पक्राउबारे प्रहरीले थप जानकारी बाहिर ल्याएको छैन ।

घटनास्थलको हवाई फुटेजमा सडकमा ओछ्याइएको त्रिपालमा सयौं बन्दुक राखिएको देखिन्छ । त्यहाँ ह्याण्डगनदेखि राइफलसम्म छन् । विदेशी समाचार पत्र टाइम्सले बताएअनुसार बरामद गरिएका केहि पुराना हातहतियार सिभिल वारको बेलाको हुनसक्ने आशंका गरिएको छ ।

यस अघि सन् २०१५ मा लस एन्जल्स प्रहरी विभागले १२ सय बन्दुक, सात टन विस्फोटक पदार्थ र २ लाख ३० हजार अमेरिकी डलर बरामद गरेको थियो । उक्त समय लस एन्जल्स प्रहरी विभागले त्यसलाई एक घरबाट बरामद भएको सबैभन्दा ठूलो मात्राको हतियार बताएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata