संसदमा मोदी भ्रमण , सत्तापक्ष र विपक्षीबीच जुहारी

मङ्लबार, जेष्ठ १, २०७५



काठमाडौं  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमाथि संसदमा सोमबार परस्पर विरोधी वक्तव्यको ओइरो लाग्यो । सत्तारुढ दलहरुले भ्रमणले नेपालको वैदेशिक नीति ठिक ढंगले अघि बढेको भन्दै यो सफल भएको जिकिर गरे भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सरकार भारत सामु लम्पसार परेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरे।

‘नेरेन्द्र मोदीले तीर्थयात्रीका रुपमा नेपाल आएको हुँ भन्नु भयो, त्यस हिसाबले उहाँको भ्रमण सफल भयो। यसमा मेरो भन्नु केही पनि छैन’ कांग्रेसका सांसद गगन थापाले भने, ‘तर मेरो चासो मेरो प्रधानमन्त्रीको बारेमा हो। प्रधानमन्त्रीले हिजो संसदमा आएर भन्नु भयो देशको हित विपरित कुनै काम गरेको छैन। गर्‍यो भनेर न कसैले संसदमा भनेको थियो, न सडकमा। किन उहाँले गरेको छैन भन्नु पर्‍यो? यो हिनताबोध किन?’

भारतका सामु अरु प्रधानमन्त्री नजिक भए प्रधानमन्त्री ओलीले पाप भन्ने गरेको र आफू नजिक भए त्यसलाई पुण्य मानेको भन्दै थापाले ओली सरकार छिमेकीका सामु लम्पसार परेको टिप्पणी गरे।

संसदमा नेपालभित्र भारतीय सेना मोदीको सुरक्षाका लागि ल्याइनु नेपाली सुरक्षाकर्मीको अपमान भन्दै माओवादी र कंग्रेसका सांसदहरुले त्यसको आलोचना गरेका थिए । पम्फा भूसालले नेपाली सुरक्षाकर्मी नै सक्षम भएकाले भारतबाट सेनाहरु ल्याउनु पर्ने थिएन भन्दै त्यो रोक्न नसक्नुमा सरकारको कुटनीतिक लाचारी भएको टिप्पणी गरेकी थिइन्।

त्यसको बचाउ गर्दै एमाले सांसद महेश बस्नेतले मध्यपुर ठिमीका मेयरमाथि दिनदहाडै आक्रमण हुँदा र ७२ वर्षीय वृद्ध बलात्कामा पर्दा पनि सुरक्षाकर्मीले अपराधी समात्न नसकेका कारण मोदीलाई नेपाली सुरक्षाकर्मीमाथि भरोसा उठेको हुनाले आफ्नै सुरक्षाकर्मी ल्याए होलान् भनेका थिए। जनकपुरमा नेपाली झण्डा रंग र आकारमा विगारेर प्रस्तुत गरेको प्रसंग समेत उपकाउँदै भनेका थिए, ‘लालबाबु राउतलाई एक दिन राष्ट्रिय झण्डाकै बारेमा तालिम दिनु पर्ने देखियो।’

‘नेपालभित्र भारतको सेना किन आयो भन्दा सत्तासीन दलका मित्र भन्नु हुन्छ, नेपालको सरकारले सुरक्षा दिन सकेन’ त्यसमाथि खरो टिप्पणी गर्दै थापाले भनेका थिए, ‘प्रदेश नम्बर २ को मुख्य मन्त्रीलाई तालिम दिनु पर्छ भन्ने मित्रहरुले परराष्ट्रमन्त्रीलाई तालिम दिनु पर्छ भन्ने कि नभन्ने? किनभने यो प्रकरणको समुच्च जिम्मेवारी मुख्यमन्त्रीको भन्दा पनि परराष्ट्र मन्त्रीको हो। उहाँले नै हेर्नु पथ्र्याे यस्तो कुरा।’

नाकाबन्दी बिर्सेको छैन भनेर कसैले पार्टी कार्यालयमा ब्नयानार राख्दासमेत त्यसलाई झिकेर ओली सरकारले लम्पसारवादको उच्चतम् नमुना प्रस्तुत गरेको भन्दै थापाले थपे, ‘प्रधानमन्त्रीले हिजो अरुलाई कुरीकुरी गर्नु भएको थियो, आज आफैं नाङ्गै हिँड्नु भएको छ।’

कांग्रेसका अर्का सांसद अमरेशकुमार सिंहले पनि मोदीको भ्रमणमा नेपालले कुटनीतिक सुझबुझ प्रदर्शन गर्न नसेको तर्क गरे। ‘दुई देशका प्रधानमन्त्रीबीच गोप्य वार्तामा के भयो, त्यसको जानकारी कहिँ कसैलाई छैन’ उनले भने, ‘फेरि नेपाल एक धर्म निरपेक्ष मूलुक भइसकेको हुनाले तीर्थ यात्रा गर्न आएका छिमेकी देशका प्रधानमन्त्रीलाई मन्दिरमै गएर नागरिक अभिनन्दन गरियो। यो राम्रो भएन।’

जनमोर्चाकी सांसद दुर्गा पौडेलले काठमाडौंमा मोदीलाई गरिएको नागरिक अभिनन्दन र होटल हायातमा भएको पत्रकार सम्मेलनमा सूचना विभागको पत्र बोकेरै गएका सञ्चारकर्मीलाई समेत प्रवेश निषेध गरेर प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको हनन सरकारले गरेको भन्दै त्यसको जवाफ पाउँ भन्दै सभामुखको ध्यानाकर्षण गराएकी थिइन्।

दुई नम्भर प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले विभेदकारी संविधानविरुद्ध संघर्ष जारी छ भनेर मोदीका अगाडि दिएको मन्तव्यको पनि संसदमा विरोध भएको थियो।

विपक्षीहरुबाट उठाइएका सवालहरुमाथि जवाफ दिँदै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘पहिलो अनुभव भएकाले हुन सक्छ प्रदेशका मुख्य मन्त्रीबाट केही त्रुटी हुन गयो। देशको संवैधानिक मामिला कुनै विदेशीका अघिल्तिर बहसको विषय हुन सक्दैन भन्नेमा नेपाल सरकार धृढ छ र मुख्य मन्त्रीको भनाइलाई आफ्नो तर्फबाट संघीय सरकारले स्वीकार गर्न सक्दैन।’

नेपाल सँधै लिने जस्तो मात्रै र अरु देश सँधै दिने मात्रै जस्तो भएकाले मूलुकको परराष्ट्र सम्बन्ध लामो समयदेखि असन्तुलित रहँदै आएको तथ्य प्रस्तुत गर्दै ज्ञवालीले अब त्यो संकथनलाई सरकारले बदल्ने दाबी गरे।

‘हामी सहयोग लिन्छौं पनि र दिन्छौं पनि। यही नै हाम्रो गाइडलाइन हो’ उनले भने, ‘यो भ्रमणले हिजोका उतार चढावलाई पार गरेर सम्बन्ध थप बबलियो बनाउन विश्वासको आधार निर्माण गरेको छ। यसका अलवा बितेका समयमा भएका प्रतिबद्धा र त्यसको कार्यान्वयनबीचको विशाल खाडललाई पुर्ने प्रयास भएको छ।’

एकीकृत महाकाली सन्धीमा हस्ताक्षर हुँदा टनकपुरको १३ सय मिटर लामो लिंक रोड बनाउने भारतको प्रतिबद्धतासमेत हालसम्म पुरा नभएको कुरो दुई देशका प्रधानमन्त्रीको भेटमा उठेको र त्यसले अब आइन्दा यस्तो नहुने तर्फ ठोस कदम चाल्न मद्दत पुग्ने उनले बताए।

राष्ट्रका कार्यकारीहरुबीच एक्लाएक्लै भेट संसार भर हुने गरेको प्रष्ट हुँदाहुँदै पनि विपक्षहरुबाट यसबारे प्रश्न उठेकामा आफूलाई आश्चर्य लागेको उनले बताए।

‘अस्ती भर्खर पनि मोदी र सि जिनपिङबीच तीन पटक औपचारिक र तीन पटक अनौपचारिक रुपमा एक्लाएक्लै भेट भएको होइन र?’ उनले भने, ‘यो जान्दाजान्दै पनि संसदमा यसबारे प्रश्नहरु उठेको देख्दा म छक्क पर्छु।’

त्यस्तै एमाले सांसद भीम रावल लगायतले पनि मोदीको भमणले दुई देशबीचको सम्बन्ध थप सुधढ भएको तर्क गरेका थिए।

मोदीको भ्रमणबारे यसरी टिकाटिप्पणीमा सकिएको संसदको विशेष समयपछि बजेटको प्राथमिकता र त्यसको सैद्धान्तिक पक्षमाथि छलफल भएको थियो। यसमा बोल्दै सत्तारुढ र विपक्षी बसै पक्षका सांसदहरुले आफूलाई अर्थमन्त्रीले विकास बजेट दिनु पर्ने माग राखेको थिए। कान्तिपुरबाट

80 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank