ओली–मोदी भेट: दुई मुलुकबीचको सम्बन्ध थप विस्तार गरिने

शनिबार, जेष्ठ १८, २०७६



प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग शुक्रबार नयाँ दिल्लीमा भेट गरेका छन् । दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ओलीले हैदरावाद हाउसमा भेट गरेका हुन् । भेटमा दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धमा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका थिए । उनीहरुबीच दुई मुलुकबीचको सम्बन्ध थप विस्तार गर्दै आपसी हितका सम्भावित क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने तथा उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले समकक्षी मोदी र उनको दल भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा प्राप्त गरेको सफलताका लागि नेपाल सरकार र नेपाली जनताका तर्फबाट बधाई दिएका थिए । उनले मोदीलाई दोस्रो कार्यकालको सफलताको शुभकामनासमेत दिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट समेत सुभकामना सन्देश सुनाए ।

भेटमा मोदीले निम्ता स्वीकार गरी शपथग्रहण कार्यक्रममा सहभागी भएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीका तर्फबाट भारतीय राष्ट्रपतिलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा दिएका छन् । ओलीले भारतीय समकक्षी मोदीलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । ओलीको निमन्त्रणालाई मोदीले सम्मानका साथ स्वीकार गरेको मन्त्रालयले जनाएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments