मोदीलाई भेट्न कांग्रेस शीर्ष नेताहरूको टोली होटल हायातमा

शनिबार, बैशाख २९, २०७५



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । भारतका प्रधानमन्त्री मोदीसंग पूर्व प्रधानमन्त्री देउवाले शनिबार दिउँसो होटल हायातमा भेटवार्ता गरेका हुन ।

भेटमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत, नेता अर्जुननरसिंह केसीलगायतका नेता सहभागीता रहेको थियो ।

दुई नेताबीच द्विपक्षीय सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढका विषयमा छलफल भएको नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सञ्चारकर्मीलाई बताए ।

भारतीय प्रधानमन्त्रीको यसपटकको नेपाल भ्रमणमा धार्मिक पर्यटन र धार्मिक सम्बन्धले बढी चर्चा पाएको उल्लेख गर्दै उनले यसले दुबै देशको धार्मिक पर्यटन प्रवर्धन टेवा पुग्ने विश्वाससमेत व्यक्त गरे ।

उपनेता गच्छदारका अनुसार नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्धलाई थप सदृढ बनाउने विषयमा समेत दुई नेताबीच कुराकानी भएको थियो ।

भेटमा सभापति देउवाले नेपालको आर्थिक एवं सामाजिक विकासमा भारत सरकारले गर्दै आएको सहयोगका लागि भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए।

सभापति देउवाको भनाइ उद्धृत गर्दै गच्छदारले भने, “राजनीतिक सहमतिमा जारी भएको संविधान कार्यान्वयन गर्दै नेपाल राजनीतिक स्थायित्व र आर्थिक विकासमा अगाडि बढिरहेको छ ।”

भारतका प्रधानमन्त्री मोदीले नेपाललाई समृद्ध बनाउन यहाँका राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने र यसमा खासगरी युवापुस्तालाई अघि सार्नुपर्ने सुझाव दिनुभएको उनले जानकारी दिए ।

164 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank