चेन्नई उत्रिए मोदी, यस्तो छ राष्ट्रपति सी’को कार्यतालीका

शुक्रबार, अशोज २४, २०७६



एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न चेन्नई पुगेका छन् । सी-मोदीबीच हुने अनौपचारिक शिखर सम्मेलनले चीन-भारतबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

उक्त  शिखर बैठकका लागि केही बेरअघि मात्रै दिल्लीबाट चेन्नइ पुगेका प्रधानमन्त्री मोदीले तमिलनाडुले राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न लागेकोमा खुसी व्यक्त गरेका छन् । राष्ट्रपति सी आज अपरान्ह भारतको तामिलनाडू राज्यको समुद्री तटमा अवस्थित महाबलीपुरम आइपुग्दैछन् ।

सी मोदीसँग शिखर बैठकका लागि आज बिहानै बेइजिङबाट त्यसतर्फ उडेका छन् । मोदी र सीबीच आज र भोलि शिखर बैठक हुने कार्यक्रम छ । त्यसपछि सी भोलि अपरान्ह त्यहाँबाट काठमाडौं आउनेछन् ।

महाबलीपुरम नै किन ?

सी-मोदीबीचको भेटवार्ता महाबलीपुरम मै हुनुको पछाडी एतिहासिक सन्दर्भ रहेको भारतीय संचार माध्यम एनडीटिभीले जनाएको छ  ।

महाबलीपुरममा प्रशस्त मन्दिरहरु छन् । यो ठाउँको ऐतिहासिक नाता चीनसँग पनि जोडिएको छ । यहाँका शासकले विगतमा तिब्बतको सीमा सुरक्षाका लागि चीनसँग सम्झौता गरेका थिए ।

समुद्रको किनारमा रहेको महाबलीपुरम शहर पल्लव वंशकका राजा नरसिंहदेव बर्मनले बसाएका थिए । यहाँ पाइने गरेका पुराना चीनी सिक्काले पनि चीनसँगको पुरानो व्यापारलाई पुष्टि गर्छ ।

कार्यतालीका 

मोदी र सीबीच आज हुँदै गरेको यो दोस्रो अनौपचारिक भेटघाट हो । अघिल्लो वर्ष चीनको वुहानमा मोदी र सीवीच यस्तै अनौपचारिक छलफल भएको थियो ।

शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सी जिनपिङलाई अर्जुनको तपस्या स्थल, गणेश रथ र पञ्चरथ, शोरे टेम्पल आदिको भ्रमण  गराउने छन् । मोदी १२ बजे चेन्नेई एयरपोर्टमा ओर्लिएका हुन् । चेन्नेईबाट उनी हेलीकोप्टरमार्फत महाबलीपुरम एयरपोर्टमा पुग्नेछन् ।

चिनियाँ राष्ट्रपति दिउँसो डेढ बजे चेन्नेई एयरपोर्टमा उत्रँदा विमानस्थलका अन्य उडानहरु रोकिनेछन् । विमानस्थलबाट सी होटल आइटीसीका लागि प्रस्थान गर्नेछन् । र, त्यहाँ केहीबेर आराम गरेपछि उनी महाबलीपुरमतर्फ प्रस्थान गर्नेछन् ।

अपरान्ह सी जिनपिङले मोदीसँगै अर्जुनको तपस्यास्थल, पंचरथ, मल्लमपुरमका मन्दिरहरुको भ्रमण गर्नेछन् ।

साँझ त्यहाँ सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ । त्यसपछि मोदी र सीले सँगै डिनर लिने कार्यक्रम छ ।

भोलिपल्ट शनिबार बिहान १० देखि १०ः ४० सम्म सी र मोदीवीच कुराकानी हुनेछ भने १०ः ५० देखि ११ः ४० सम्म भारत–चीनबीच प्रतिनिधिमण्डलवीच बैठक हुनेछ ।

बैठकपछि चिनियाँ राष्ट्रपतिको सम्मानमा दिवाभोजको आयोजना हुनेछ । अपरान्ह मोदी दिल्लीतर्फ लाग्नेछन् भने सी नेपालका लागि प्रस्थान गर्नेछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata