आए मोदी, गए मोदी-

आइतवार, बैशाख ३०, २०७५



अरुण तेस्रो जलविद्युत् आयोजना
प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शुक्रबार अरुण तेस्रोको शिलान्यास गरेका छन् । नेपालको सबैभन्दा ठूलो नौ सय मेगावाटको यस आयोजनाको निर्माण सन् २०२३ सम्ममा सक्ने लगानी बोर्डले जनाएको छ । नयाँपत्रिकाबाट

पञ्चेश्वर बहुउद्देश्यीय परियोजना 
पञ्चेश्वरको डिपिआर चाँडै टुंग्याउने यसअघिकै सहमतिलाई निरन्तरता दिइएको छ । शुक्रबार दुई प्रधानमन्त्रीबीच पनि डिपिआर चाँडै टुंग्याउने सहमति भयो, तर संयुक्त वक्तव्यमा उल्लेख छैन ।

नेपाल प्रहरीको एकेडेमी निर्माण
भारतीय सहयोगमा प्रहरी एकेडेमी निर्माण कार्यान्वयन गर्न ओलीको दिल्ली भ्रमणमा मोदीले आश्वासन दिएका थिए । अहिले पनि दोहोर्‍याए, तर संयुक्त वक्तव्यमा समेटिएन ।

१९५० सन्धि पुनरावलोकन
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले दिने प्रतिवेदनका आधारमा नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दीको यथार्थसँग मेल खाने गरी १९५० को सन्धिलाई अघि बढाउने सहमति भएको छ । द्विपक्षीय वार्तामा यसबारे छलफल भए पनि संयुक्त वक्तव्यमा केही उल्लेख छैन ।

काठमाडौं–रक्सौल रेलमार्ग निर्माण
काठमाडौं–रक्सौल रेलमार्ग सर्भे तत्कालै सुरु गर्ने र एक वर्षभित्र डिपिआर तयार गर्ने पूर्वसहमति अघि बढाउन दुवै देश तयार भएका छन् ।

भारु सटहीबारे 
भारतीय नोटबन्दीका कारण नेपालीलाई परेको अप्ठ्यारो सम्बोधन गर्न नेपालले अनुरोध गरेकोमा भारत सकारात्मक भएको शुक्रबार प्रधानमन्त्री ओलीले बताएका थिए । तर, संयुक्त वक्तव्यमा उल्लेख छैन ।

कृषि
कृषि अनुसन्धान, कृषि शिक्षा र कृषि विकासमा सहकार्यको मोडालिटीका लागि नेपाल र भारतका कृषिमन्त्रीहरूको बैठक चाँडै गर्ने सहमति भएको छ । नमुना परियोजना निर्माण गर्ने सहमति पनि भएको छ ।

व्यापार सन्धी : नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकन गर्न दुवै प्रधानमन्त्री सहमत भएका छन् । चाँडै वाणिज्य सचिवहरूको बैठक बस्ने सहमति भएको छ ।

भक्तपुर क्यान्सर अस्पतालमा नयाँ र अत्याधुनिक रेडियोथेरापी मेसिन भारतले तत्काल पठाउने र तत्कालै जडान गर्ने सहमति पनि भएको छ । विगतमा भएका सम्झौता कार्यान्वयन गर्ने प्रभावकारी मापदण्ड तयार गर्न दुवै देश सहमत भएका छन् । अर्गानिक फार्मिङ र माटोको स्वास्थ्य परीक्षणसम्बन्धी पाइलट प्रोजेक्ट तत्कालै सुरु हुनेछ ।

विद्युत सम्झौता : नेपालले भारतसँग गरेको विद्युत् खरिद सम्झौताको पूर्ण कार्यान्वयनमा जोड दिइएको छ । मोदीले सरोकारवालासँग छलफल गरेर भारतीय ऊर्जा बजारमा नेपालको बिजुली बिक्रीसम्बन्धी भारतको विद्यमान प्रावधान सच्याउन कोसिस गर्ने बचन दिएका छन् । दुवै देशबीच इनर्जी बैंकिङलाई अघि बढाउने सहमतिसमेत भएको छ ।

बुटवल–गोरखपुर ४०० केभी विद्युतीय प्रसारण लाइन निर्माणमा दुवैले जोड दिएका छन् । नेपालले आफ्नोतर्फ लाग्ने सबै खर्च बेहोर्ने घोषणा द्विपक्षीय बैठकमा गरेको छ । वीरगन्जबाहेक थप तीन संयुक्त चेकपोस्ट निर्माणमा जोड दिइएको छ, जनकपुर–जयनगर–बर्दिवासबाहेक थप सीमापार र रेलवे निर्माणमा भारतले प्रतिबद्धता जनाएको छ ।

१६ बुँदे संयुक्त विज्ञप्ति : ओलीलाई भारत भ्रमणको निम्ता


मोदीको राजकीय नेपाल भ्रमणको अन्तिम दिन शनिबार नेपाल र भारतबीच १६ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । वक्तव्यमा प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले भारत भ्रमणको निमन्त्रणा दिएको र ओलीले कूटनीतिक च्यानलमार्फत समय मिलाएर भारत भ्रमण गर्ने जवाफ दिएको उल्लेख छ ।

प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार भएको द्विपक्षीय वार्तामा ओलीको गत २३ देखि २५ चैतमा भएको भारतको राजकीय भ्रमणमा भएका छलफलअनुसार विगतमा भएका समझदारी कार्यान्वयनमा जोड दिइएको छ । विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनमा प्रभावकारी पहल लिने सहमति भएको छ ।

कृषि, रेलवे, जलमार्गमा भएका सहमति कार्यान्वयनका लागि प्रभावकारी द्विपक्षीय पहलकदमी लिने सहमति भएको छ ।

दुई देशबीच समानता, आपसी विश्वास, सम्मान र आपसी लाभका आधारमा सम्बन्ध थप सुदृढ बनाउने सहमति भएको छ । द्विपक्षीय सम्बन्धहरूको समग्र समीक्षा गर्न परराष्ट्रमन्त्रीस्तरको नेपाल–भारत संयुक्त आयोगसहित द्विपक्षीय संयन्त्रहरूको बैठक राख्न दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

एक महिनाअघि सम्पन्न वाणिज्य सचिवस्तरीय अन्तरसरकारी बैठकमा भएका निर्णयलाई दुवै प्रधानमन्त्रीले स्वागत गरेका छन् । नेपालको बढ्दो व्यापार घाटाबारे भारतका प्रधानमन्त्रीलाई जानकारी गराइएको छ । व्यापार, पारवहन, अनधिकृत व्यापार, भारतको खुला बजारमा नेपालको पहुँचलगायत व्यापार सन्धि र सम्बन्धित सम्झौताहरूको समीक्षा गर्न संयुक्त पहल लिइने भएको छ । दुई देशबीच थप हवाई, स्थल र जलमार्गबाट कनेक्टिभिटीमा जोड दिइएको छ । नेपालले प्रस्ताव गरेको एयर इन्ट्री रुटबारे विज्ञहरूको बैठकका लागि दुवै प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

जलस्रोतसम्बन्धी हालसम्म भएका सम्झौताको कार्यान्वयन, बाढी नियन्त्रणलगायत विषयमा सहकार्य गर्न तत्कालै संयुक्त प्राविधिक टिम पठाएर सर्भे गर्न दुवै प्रधानमन्त्रीले सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।

दुवै प्रधानमन्त्रीले स्विच दबाएर अरुण तेस्रो जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । गत महिना सम्पन्न ऊर्जासम्बन्धी संयुक्त स्टेरिङ कमिटीको बैठकका निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ऊर्जा व्यापार सम्झौताको कार्यान्वयनमा जोड दिइएको छ ।

दुवै प्रधानमन्त्रीले जनकपुर–अयोध्या बस सेवाको उद्घाटन गरेका छन् । रामायण सर्किट निर्माणको सहमति गरेका छन् ।

सबै क्षेत्रमा साझेदारी विकासका लागि आगामी सेप्टेम्बरसम्म समग्र विषयको समीक्षा गर्न सम्बन्धित अधिकारी (विदेशसचिव)हरूलाई निर्देशन दिइएको छ ।

सार्क, बिमस्टेक र बिबिआइएनजस्ता क्षेत्रीय/उपक्षेत्रीय फ्रेमवर्कमा साझेदारीको महत्वलाई दुवै प्रधानमन्त्रीले आत्मसात गरेका छन् ।

जाँदाजाँदै मोदीले भने : भ्रमण ऐतिहासिक
दिल्ली फर्किनुअघि मोदीले शनिबार नेपालीमा दुई ट्विट गरे । ‘मेरो नेपाल भ्रमण ऐतिहासिक रह्यो । यस भ्रमणले मलाई नेपाली जनतासँग आत्मीय हुने ठूलो अवसर प्रदान गर्‍यो । प्रधानमन्त्री केपी ओलीसँगको छलफल धेरै फलदायी रह्यो,’ मोदीले पहिलो ट्विटमा लेखेका छन् ।

127 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank