यी हुन् मोबाइल नबोक्ने “ठूला मान्छे”

शनिबार, बैशाख १५, २०७५



काठमाडौं ।  एक्काइसौँ शताब्दीमा मानिस प्रविधिविनाको जिन्दगीको कल्पना पनि गर्न सक्दैनन् । नयाँ प्रविधिसँग मानिस आफूलाई व्यस्त बनाउन चाहन्छन् । कम्प्युटर, मोबाइल, ट्याबलगायतका प्रविधिले मानिसलाई यति धेरै सुविधा दिलाइदिएको छ कि जतिवेला पनि ऊ त्यसमै रमाइरहेको छ । प्रविधिको सबैभन्दा सजिलो उत्पादन मोबाइल त अहिले मानिसको दैनिक जीवन नै भइसकेको छ । मानिस हरपल मोबाइलमा गफिइरहेको हुन्छ, म्यासेन्जरको च्याटिङमा व्यस्त भइरहेको हुन्छ ।

मानिसले आफ्नो दैनिक कार्यतालिका मोबाइलबाटै निर्धारण गर्छ । दूरदराजको काम तत्काल मोबाइल फोनकै भरमा गर्न सक्छ । अर्थात् मोबाइलले मानिसको आधा क्षमताको विकास र समय बचत गरेको हुन्छ । त्यसैले, अहिले मोबाइलविनाको जीवन कसरी सम्भव होला भन्ने बहस सुरु भएको छ । त्यसो भए, मोबाइल नबोक्दा दैनिक कार्यतालिका चल्न सम्भव नै छैन त ? धेरैलाई लाग्छ, मोबाइल नबोक्नु वा नचलाउनु आफैँलाई दुःख दिनु हो । यस्तो अवस्थामा पनि समाजका केही नागरिक अगुवाको दैनिकी मोबाइलविना नै चलिरहेको छ । मोबाइलविना पनि नियमित र समयबद्ध दैनिक कार्यतालिका सञ्चालन सम्भव छ भन्ने उनीहरूको जीवन पद्धतिले देखाएको छ ।नयाँपत्रिकाबाट

निजी सचिवको मोबाइलमा कुराकानी 
 शेरबहादुर देउवा, सभापति, कांग्रेस
कांग्रेस सभापति शेरबहादुर देउवा चारपटकसम्म प्रधानमन्त्री भइसकेका छन् । उनी पहिलोपटक प्रधानमन्त्री भएका वेला नेपालमा सूचना, सञ्चार तथा प्रविधिको विकास भएको हो । तर, देउवा आफैँ भने निजी मोबाइल फोन प्रयोग गर्दैनन् । मोबाइल नबोके पनि उनले स्वकीय सचिव भानु देउवाको मोबाइलबाट कुराकानी गर्ने गरेका छन् । कांग्रेस सभापति देउवासँग कुराकानी गर्नुपर्ने भए वा भेटघाटका लागि समय मिलाउनुपरेमा भानु देउवाको मोबाइल टिपाउने गर्छन् । कांग्रेस नेताहरू मात्र होइन, अन्य दलका नेता तथा कूटनीतिक नियोगबाट कुराकानी गर्नुपर्ने भएमा पनि उनकै मोबाइल  प्रयोग हुन्छ ।

कतिपय अवस्थामा देउवाले श्रीमती आरजु राणा देउवाको मोबाइलबाट पनि कुराकानी गर्दै आएका छन् । देउवाको आफ्नै मोबाइल भने नरहेको उनका स्वकीय सचिव भानु देउवा बताउँछन् । ‘सभापतिले मेरो मोबाइलमा कुराकानी गर्नहुन्छ, त्यसबाहेक मोबाइल खेलाउने वा अन्य केही गतिविधि गर्नुहुुन्न,’ भानुले नयाँ पत्रिकासँग भने ।

मोबाइलले व्यक्तिलाई असामाजिकीकरण बनायो 
केदारभक्त माथेमा, शिक्षाविद्
शिक्षाविद् केदारभक्त माथेमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति र पूर्वराजदूत पनि हुन् । जापानका लागि नेपाली राजदूत माथेमा मोबाइलविना पनि निरन्तर सक्रिय छन् । त्रिविको उपकुलपति र राजदूतको जिम्मेवारीमा रहँदा पनि उनले मोबाइल बोकेनन् । माथेमाले प्रविधि विकासको असन्तुष्टिले मोबाइल नबोकेका भने होइनन् । अधिकांश मानिस फेसबुक, ट्विटर, भाइबरलगायतका सामाजिक सञ्जालमा सक्रिय हुन्छन् । केही मानिस भने यी सबै चिजबाट टाढा हुन्छन् । शिक्षाविद् माथेमा इन्टरनेटबाट टाढा छैनन्, तर मोबाइल भने बोक्दैनन् । माथेमासँगको सम्पर्क माध्यम भनेको इमेल वा घरको ल्यान्डलाइन टेलिफोन हो । ‘जापानको राजदूत हुँदा मोेबाइल बोकिनँ, अहिले त झन् के बोक्नु भन्ने लाग्छ,’ माथेमाले नयाँ पत्रिकासँग भने, ‘छोरीले एउटा मोबाइल किनिदिएकी छिन्, तर चलाउने गरेको छैन ।’

माथेमालाई कार्यक्रममा जाँदा मोबाइलमा फेसबुक, ट्विटर चलाएर बसेको रुचिकर लाग्दैन । मोबाइलमा रमाउने मानिस सामाजिकीकरण कम हुने उनको तर्क छ । त्यस्तो प्रवृत्तिले पश्चिमा देशका किशोरकिशोरीमा समस्या सिर्जना गरेको उनको भनाइ छ । ‘मोबाइल नहुँदा फेसबुक र ट्विटर पनि चलाउँदिनँ, यसले मलाई समय बचत गराएको छ, त्यो समयमा अध्ययन गर्छु,’ माथेमाले भने ।

मोबाइल नबोक्ने डाक्टर
 डा. सुन्दरमणि दीक्षित, नागरिक अगुवा
डा. सुन्दरमणि दीक्षित अधिकारकर्मीका साथै वरिष्ठ मुटुरोग विशेषज्ञ पनि हुन् । पेसागत धर्म र नागरिक अगुवाइको नेतृत्वकर्ताको हैसियतले पनि उनी निरन्तर सम्पर्कमा रहनुपर्ने मानिस हुन् । सबैसँग सहज सम्बन्धका लागि दीक्षितले मोबाइल बोक्नुपर्ने हो । तर, उनले अहिलेसम्म मोबाइलविनै आफ्नो दैनिकी चलाउँदै आएका छन् । बिरामीलाई चिकित्सकीय सेवा प्रदान गर्न उनी निजी निवास र अफिसको फोन प्रयोग गर्छन् । समयप्रति निकै सचेत रहने दीक्षितले ल्यान्डलाइनबाटै सबै कार्यक्रमको तालिका तय गर्दै आएका छन् ।

मोबाइलबाट मानसिक 
दिग्दारी हुन्छ
 कृष्ण पहाडी, नागरिक अगुवा
०६२/६३ को जनआन्दोलनका वेला प्रखर वक्ताको छवि बनाएका अधिकारकर्मी कृष्ण पहाडी आन्दोलनको नेतृत्वकर्ता नै थिए । यस आधारमा भन्नुपर्दा पहाडीको सबैभन्दा बढी व्यक्तिसँग सम्पर्क र सम्बन्ध हुनुपर्ने हो । त्यसका लागि जति सकिन्छ त्यति धेरै सामाजिक सञ्जाल र मोबाइल प्रयोग हुनुपर्ने हो ।  तर, उनी मोबाइल, फेसबुक र ट्विटर प्रयोग गर्दैनन् ।

पहाडीले किन मोबाइल बोकेनन् भन्नेमा कुनै विशेष कारण भने छैन । ‘पहिलादेखि नै बोकिएन, त्यसकारण बोक्न खास मन लागेको छैन,’ उनले भने । पहाडीले दैनिक सम्पर्कका लागि बिहान–बेलुका घरको ल्यान्डलाइन फोनमा कुराकानी हुने र दिउँसो अफिसको टेलिफोनमा कुराकानी हुने भएकाले मोबाइल आवश्यक नपरेको बताए । उनी साँझ ६ बजे घर पुगिसकेका हुन्छन् भने बिहान ९ बजेसम्म घरमै हुन्छन् । त्यतिवेलासम्म उनलाई घरमा कुराकानी गर्न सकिन्छ भने दिउँसो उनलाई शान्ति समाजको कार्यालयमा भेटिन्छ । त्यसबाहेक पहाडीसँग इमेलमा कुराकानी गर्न सकिन्छ ।

मोबाइल नहुँदा समस्या नभोगेका भने होइनन् पहाडीले । विदेश भ्रमणमा जाँदा त समस्याका भुक्तभोगी हुन् उनी । तैपनि मोबाइल प्रयोगमा भने उनको रुचि देखिन्न । मोबाइल नबोकेकै कारण भारत जाँदा रेल र प्लेनको टिकट किन्दा समस्या व्यहोरेको पहाडीले अनुभव सुनाए । ‘मोबाइल नबोक्दा भारतमा असामाजिक नै ठानेका थिए,’ पहाडीले भने, ‘फोन गर्नैपर्ने बाध्यता भएर वनारसमा फोन खोज्दा पिसिओ नै बन्द रहेकाले समस्या भोगेको थिएँ ।’

होटेलको बुकिङदेखि कार्यक्रमको तालिका मिलाउनसम्म मोबाइल आवश्यक हुन्छ । ‘खासमा मोबाइल नबोक्नु भनेको आफैँले आफैँलाई दुःख दिनु हो,’ पहाडीले भने । नेपालमा भने खासै समस्या नपरेको उनी बताउँछन् । इमेलका साथै अफिस र घरको फोनले कार्यक्रमको तालिका तय हुने उनले बताए । ‘प्रविधिको विरोधमा मोबाइल नबोकेको भने होइन, अहिले प्रविधिको प्रयोगमा पछाडि पर्नु भनेको निरक्षर हो, त्यही निरक्षरभित्र पर्छु,’ पहाडीले भने, ‘मोबाइलको सिर्जनशील उपयोग गर्नुपर्छ ताकि मानिसलाई मानसिक दिग्दारी नहोस् ।’

घरको फोन छँदै छ 
विहारीकृष्ण श्रेष्ठ, पूर्वप्रशासक
पूर्वसचिव विहारीकृष्ण श्रेष्ठ नेपालमा उपभोक्ता समूह र आमा समूहको अवधारणा ल्याएर चर्चामा आएका प्रशासक हुन् । नेपालमा विकेन्द्रीकरणको पहिलो ऐन ल्याउने श्रेय उनैलाई जान्छ । त्यति मात्र होइन, इलाका विभाजनको सुरुवाती अवधारणा पनि उनैले ल्याएका थिए । कुनै वेला उनी राजा वीरेन्द्रको प्रिय प्रशासकसमेत थिए । वीरेन्द्रका महत्वपूर्ण भाषण उनैले लेख्थे । तैपनि श्रेष्ठ मोबाइल प्रयोगकर्ता भने होइनन् । मोबाइल प्रयोग नगरेकै कारण त्यति ठूलो समस्या महसुस नगरेको उनी बताउँछन् । तर, गाडी जाममा परेर कार्यक्रम वा घरमा ढिला हुँदाचाहिँ मोबाइल भइदिए खबर गर्न हुन्थ्यो जस्तो उनलाई नलागेको भने होइन । ‘यसका बाबजुद पनि मोबाइल बोक्न रुचिकर भने लागेन,’ श्रेष्ठले भने ।

बैठक वा छलफलमा बस्दा पनि मानिसले किचिकिचि मोबाइल प्रयोग गरेको उनलाई मन पर्दैन । उनी कान कम सुन्छन् । यी दुई कारणले पनि आफूलाई मोबाइल बोक्न मन नलागेको उनले बताए । ‘केही वर्षअघि एउटा संस्थाको परामर्शदाता भएर काम गर्दा त्यही संस्थाले सम्पर्क गर्न गाह्रो भयो भन्दै मोबाइल दिएको थियो, तीन–चार महिना बोके पनि प्रयोग गरिनँ,’ श्रेष्ठले भने । उनलाई सम्पर्क गर्ने माध्यम इमेल र घरको ल्यान्डलाइन फोन हो । ‘मलाई आवश्यक पर्ने व्यक्तिलाई घरको फोनबाट कुरा गरिहाल्छु, खोज्नेहरूले पनि घरको फोन वा इमेल गर्छन्, त्यस्तो कुनै समस्या छैन,’ श्रेष्ठले भने ।

खराबीले नबोकेको होइन 
सत्यमोहन जोशी, संस्कृतिविद्
सत्यमोहन जोशी संस्कृतिविद् हुन् । उमेरले झन्डै शताब्दी टेक्न लागेका जोशी पछिल्लो पुस्ताको आकर्षण रहेको मोबाइलमा त्यति धेरै चासो राख्दैनन् । मोबाइलबाट उत्पन्न खराबी वा समस्याका कारण उनले मोबाइल नबोकेका भने होइनन् । अहिलेसम्म आफूले मोबाइलको आवश्यकता नै महसुुस नगरेको उनी बताउँछन् । सूचना तथा प्रविधिको विकासबारे उनको रुचि नै छ । ‘कुनै समस्याका कारण मैले मोबाइल नबोकेको होइन,’ जोशीले भने, ‘मलाई अलि शान्त जीवन मन पर्छ ।’

मोबाइल बोकौँजस्तो खासै नलागेको जोशी बताउँछन् । घरको ल्यान्डलाइन फोनमा उनी कुराकानी गर्छन् र कार्यक्रमको समय निर्धारण गर्छन् । त्यसैअनुसार उनी सकभर पैदलै हिँड्छन् । जोशी मोबाइल नबोक्ने मात्र होइन, सार्वजनिक यातायात चढ्न पनि रुचि राख्दैनन् । ललितपुरको मंगलबजार क्षेत्रमा बस्ने जोशी पहिले पहिले काठमाडौंसम्मको यात्रा पैदल नै गर्थे । केही समयअघि मात्र ललितपुर महानगरपालिकाले सम्मानस्वरूप जोशीलाई गाडी सुविधा दिएको छ ।

121 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank