कांग्रेसको आरोपबारे सरकारको टिप्पणी : जवानी सम्झेर धुरुधुरु रुँदैछ.

शुक्रबार, मंसिर ६, २०७६



सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारका सकारात्मक काम कारवाहीलाई बेवास्ता गर्दै आरोप–प्रत्यारोपमा ओर्लिएको बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आफ्नै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले प्रतिपक्षी काँग्रेसले सत्ताको जवानी सम्झेर आरोपको खेती गरेकोसमेत टिप्पणी गरे ।

काँग्रेसले सत्ता सञ्चालनको २१ महिनामा २१ आरोप लगाएको विषयप्रति सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री बाँस्कोटाले काँग्रेसको आरोप सन्तुष्टि लिन र उपनिर्वाचनको मुखमा तुष्टि लिनका निम्ति मात्रै भएको स्पष्ट पारे ।

उनले भने, ‘काँग्रेसले आरोप लगाउन पाएकै थिएन । सात सालयता नेपालको राजनीतिक सत्ताको मियो नै काँग्रेस बनेकोथियो । इतिहासमा पहिलोपटक नेपाली जनताले फैसला गरेको त्यो राजनीतिक सत्ता नेकपाको हातमा आयो । जवानी सम्झेर धुरुधुरु रुनुपर्नेजस्तो भएकाले आरोपको खेती उहाँहरुले गर्नुभयो ।’

राजनीतिमा विकृति ल्याएको भन्ने आरोपको खण्डन गर्दै मन्त्री बाँस्कोटाले पञ्चायतपछिको पहिलो सरकार त्यसमा पनि सुविधाजनक बहुमत पाएको काँग्रेस नेतृत्वको सरकार आफ्नै कारण ढलेको भन्दै अस्थिरताको शुरुआत काँग्रेसबाटै भएको जिकिर गरे ।

‘आरोप लगाउन पाइन्छ । उहाँहरु (काँग्रेस) ले २१ वटा आरोप लगाउनुभयो भने हामी २०४६ देखि २०७६ सम्मका २९ वर्षका २९ वटा आरोप लगाउन सक्छौँ । अनेक विषय हुनसक्छन् । प्रजातन्त्रका नाममा के–कस्ता विकृति भएका छन् । बालुवाटारको जग्गा सुवर्णशमशेर परिवारलाई प्रजातन्त्रका लागि योगदान गरेको भनेर कसले दिएको हो ?’, सञ्चारमन्त्रीले भने ।

उनले विगतमा भएका बेथितिको अन्त्य गर्दै मुलुकलाई सुशासनतर्फ अगाडि बढाउने दिशामा सरकार केन्द्रित भएको बताए । उनले भने, ‘हामी मुलुकलाई सुशासनतर्फ अगाडि बढाउन चाहेका छौँ, त्यसैले बालुवाटारको जग्गा पनि खोजी गर्दैछौँ । सुन तस्करको जालो पनि तोडियो । राजनीतिक संस्कारको कुरा गर्ने हो भने आलम (सांसद) को मुद्दामा काँग्रेसको निर्णय कस्तो छ ? लाउडा, धमिजा, पछिल्लो वाइडबडीलगायतमा छानबिन समिति बनाएर अनुसन्धान अघि बढाइएको छ । अहिले तीव्र आर्थिक वृद्धि, न्यायमा आधारित वितरण प्रणाली, औद्योगिकीकरणलगायत काम थालेका छौँ ।’

आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata