दशैँअघि नै काठमाडौँमा मेलम्चीको पानी ल्याउँछुः मन्त्री विना

बुधबार, चैत्र ७, २०७४



काठमाडौँ । खानेपानी तथा सरसफाईमन्त्री विना मगरले दशैंअघि नै काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने विश्वास दिलाएकी छिन् । उनले भनिन्, ‘कम्तिमा पनि दशैंअघि नै मेलम्चीको पानी काठमाडौंका घर–घरमा पुर्याउने स्पिरिटका साथ काम गर्दैछौं, मैले सोही अनुसार मातहतका निकायलाई निर्देशन दिएकी छु, काठमाडौंवासीलाई आशावादी हुन आग्रह गर्छु ।’

बुधबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री मगरले संविधानको धारा २५ ले नै मौलिक हकअन्र्तगत स्वच्छ खानेपानीको कल्पना गरेकोले खानेपानी जनतासँगै प्रत्यक्ष जोडिएको विषय भएको बताइन् । उनले भनिन्, ‘मेलम्चीको पानी काठमाडौं ल्याउने निर्माण कार्य अवरुद्ध थियो, त्यही भएर म हिजोमात्रै मेलम्ची पुगेर आएँ, मैले आवश्यक निर्देशन दिएसँगै अहिले निर्माण कार्य पूनः सूचारु भएको छ ।’

उनले २५ दिनभित्रै मेलम्चीको पानी सुन्दरीजलमा (मुख्य र अन्तिम द्धार) ‘ब्रेक–थु्र’ गर्ने विश्वास निर्माण कम्पनीले दिएको बताइन । ‘असार अन्तिमसम्म सुन्दरीजलमा पानी खसाल्ने प्रतिबद्धता आएको छ, मैले त्यही स्पिरिटमा काम गर्न निर्देशन दिएको छु’–उनले भनिन् ।

तराई–मधेशका २२ जिल्लामा खानेपानीमा देखिएको आर्सनिकको समस्या समाधान गर्न तराई–मधेश खानेपानी सुधार कार्यक्रम सञ्चालनमा आएकोले त्यसलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उनले विश्वास दिलाईन् । त्यस्तै उनले हिमाली रेञ्जको सरसफाईमा पनि आफूले विशेष ध्यान दिने प्रतिबद्धता जनाईन् ।

काठमाडौं उपत्यका र शहरमा देखिएका पानीको समस्यालाई समाधान गर्न चुहावटलाई पनि रोक्ने उनको अठोट थियो । उनले भनिन्, ‘पानीको समान पहुँच पुर्याउँछौं, उपत्यका र देशका विभिन्न शहरमा देखिएका समस्याहरुलाई वैज्ञानिक रुपमा हल गर्नेगरि म कार्यक्रम अघि बढाउँछु ।’ उनले आगामी ०७५ साललाई राष्ट्रिय सरसफाई वर्षको रुपमा घोषणा गरेर काम गर्ने पनि बताइन् ।

227 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank