मेस्सीको ह्याट्रिक, सेभिल्लामाथि बार्सिलोनाको सनसनीपूर्ण जित

आइतवार, फाल्गुन १२, २०७५



काठमाडौं । कप्तान लिओनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सेभिल्लामािथ सनसनीपूर्ण जित निकालेको छ । खेलमा दुईपटक पछि परेको स्थितिमा बार्सिलोनालाई कमब्याक जित दिलाउनेक्रममा मेस्सीले सनसनीपूर्ण ह्याट्रिक गरे भने १ गोल लुइस स्वारेजले गरे ।

घरेलु टोली सेभिल्लाले पाहुना टोली बार्सिलोनाविरुद्ध दुईपटक अग्रता लिएर पनि जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भयो । बार्सिलोनाका लागि दुईपटक नै बराबरी गोल मेस्सीले गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक र आक्रामक खेलमा सुरुआती अग्रता भने पनि घरेलु टोली सेभिल्लाले नै लिएको थियो । उसका लागि खेलको २२औं मिनेटमा जेसस नाभासले गोल गरेका थिए ।

इभान राकिटिकको आकासे पासमा भली प्रहार गर्दै वान टचमै खेलको २६औं मिनेटमा बार्सिलोनाका लागि मेस्सीले गोल गरे ।

फेरि खेलको ४२औं मिनेटमा सेभिल्लाका लागि ग्याब्रिएल मेर्काडोले गोल गरेपछि सेभिल्ला पहिलो हाफमा २–१ ले अघि रह्यो । उनले पाब्लो सराबियाको पासमा गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफमा बार्सिलोनाले सुरुबाटै बराबरी गोलका लागि कडा संघर्ष देखायो । र, खेलको ६७औं मिनेटमा पुनः मेस्सीले नै दोस्रो गोल गर्दै खेल २–२ बनाए ।

त्यसपछि खेलको ८५औं मिनेटमा मेस्सीले तेस्रो गोल गर्दै हयाट्रिक पूरा गरे । त्यसपछि खेलको इन्जुरी समयमा स्वारेजले गोल गरेपछि बार्सिलोना २–४ ले विजयी भयो ।

यो जितपछि बार्सिलोनाले २५ खेलबाट ५७ अंक जोडेको छ । ऊ दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १० र तेस्रो स्थानको रियल मड्रिडभन्दा १२ अंकले अघि छ । तर, एथ्लेटिको र रियलले एक खेल कम खेलेका छन् । यता, सेभिल्ला २५ खेलबाट ३७ अंकसहित पाँचौं स्थानमै सीमित भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata