मेलम्चीमा फेरि एक वर्षको वाचा, सिनो हाइड्रोसँग सम्झौता

सोमवार, अशोज १३, २०७६



डेढ दशकदेखि सर्वाधिक चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना बनाउन पछिल्लोपटक नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग सम्झौता भएको छ।

निर्माण शुरु भएको १५ वर्ष अवधिमा पटकपटक विवादमा आएको यो आयोजना बनाउन अहिलेसम्म तीनवटा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो।

आइतबार चौथो ठेकेदार कम्पनी सिनो हाइड्रोसँग आयोजना कार्यालयले एक वर्षभित्रै सुरुङ निर्माण सक्ने सम्झौता गरेको हो। तीन दशकदेखिको हल्ला र डेढ दशकदेखिको विवादैविवादका कारण नयाँ सम्झौताअनुसार काम हुनेमा काठमाडौंवासी ढुक्क छैनन्।

सम्झौताअनुसार सुरुङ निर्माणको काम भए अस्थायी हेडवर्क्स (बाँध) मार्फत मेलम्चीको पानी एक वर्षभित्र उपत्यकामा आउनेछ। आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले आयोजना र सिनो हाइड्रोबीच सुरुङ निर्माण एक वर्षभित्रै सम्पन्न गर्ने सम्झौता भएको जानकारी दिए।

‘ठेकेदार कम्पनीले दसैंलगत्तै काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ,’ उनले भने, ‘कम्पनीले निर्माण सामग्री ल्याउनुका साथै साइटको अवलोकन पनि गरिसकेको छ। त्यसैले असोज २६ गतेदेखि धमाधम निर्माणको काम शुरु हुनेछ।’

खत्रीले मेलम्ची आयोजनाको काम छिटो सके ठेकेदार कम्पनीलाई प्रोत्साहन पुरस्कारको व्यवस्था गरेको बताए।

‘तोकिएको समयभन्दा छिटो सकेमा ठेकेदार कम्पनीले दैनिक ०.१५ प्रतिशतका दरले (१२ लाख ७५ हजार) प्रोत्साहन पुरस्कार पाउनेछन्,’ उनले भने, ‘तोकेको समयमा निर्माण सम्पन्न नगरेको खण्डमा पनि सोही अनुसारको जरिमाना तिर्नुपर्नेछ।’

खत्रीले ठेकेदार कम्पनीले अप्रत्यक्षरुपमा कामदार खटाउनेदेखि, आवश्यक निर्माण सामग्री र उपकरण साइटमा लैजाने काम गरिरहेको बताए। ‘अप्रत्यक्ष रुपमा ठेकेदार कम्पनी साइटमा पुगिसक्यो,’ उनले भने, ‘ठेकेदारले निर्माण सामग्री र उपकरण साइटमा पुर्‍याइसकेको छ। त्यसैले छिट्टै काम सुरु हुनेछ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata