काेराेना कहर-सात दिनमा करौडौं डलरको नक्कली औषधी बरामद

सोमवार, बैशाख १, २०७७



एजेन्सी । संसारभर कोरोना भाइरस महामारीका कारण स्थिति भयावह बन्दै गइरहेको छ । कोरोना भाइरसका कारण संसारभर एक लाख १४ हजार भन्दा बढी मानिसहरूले जन गुमाइसकेका छन् ।

कोरोना कहर भएकै अवस्थामा विश्वभर नक्कली औषधीको कारोबार गर्ने गिरोह सक्रिय बन्दै गइरहेको छ । कोरोनाको कारण विश्वभर लकडाउन प्रक्रिया अवलम्बन गरिएको छ । लकडाउनका कारण अत्यावश्यक वस्तुहरूको कृत्रिम अभाव सिर्जना भएको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेकै साता औषधीसम्बन्धी अपराध विरुद्ध काम गर्ने इन्टरपोलको विश्वव्यापी इकाई अपरेसन पान्जियाले जम्मा सात दिनमा ९० वटा देशभरिबाट १२१ जनालाई पक्राउ गरेको थियो।

त्यस क्रममा १ करोड १४ लाख डलर बराबरका घातक खालका औषधी जफत भएको थियो। प्रहरी अधिकारीहरूले मलेसियादेखि मोजाम्बिकसम्म दशौँ हजार नक्कली मास्क र औषधी जफत गरेका थिए। ती मध्ये धेरै औषधीले कोरोना भाइरस निको पार्न सक्ने दाबी समेत गरेका थिए। स्वास्थ्य सङ्कटका बेला औषधीजन्य नक्कली सामग्रीको अवैध व्यापारले मानिसको जीवन पूर्ण रूपमा अवमूल्यन गरेको देखिन्छ, इन्टरपोलका महासचिव युर्गन स्टकले भने।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार ३० अर्व डलर बराबरका नक्कली वा म्याद नाघिसकेका औषधीको व्यापार न्यून र मध्यम आय भएका देशहरूमा हुने गर्छ। त्यसरी व्यापार हुने औषधीले शरीरमा नराम्रो असर गर्न सक्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments