१२ मेडिकल कलेजमाथि छानबिन प्रक्रियालाई तीव्र

सोमवार, मंसिर २, २०७६



सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका १२ कलेजमाथिको छानबिन प्रक्रियालाई तीव्र पारेको छ । छानबिन क्रममा आवश्यक कागजात दिन अस्वीकार गरी असहयोग गरेको भन्दै पवभागले आइतबार तीनवटा मेडिकल कलेजमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

एमबीबीएस र बीडीएसको पढाइका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोपमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मेडिकल कलेजमाथि मुद्दा चलाउने तयारी थालेको छ । विभागले वीरगन्जस्थित नेसनल मेडिकल कलेज, विराटनगरको नोबल मेडिकल कलेज र चितवन मेडिकल कजेजबाट महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो । कागजात माग्दा अटेर गरेपछि छापा मारेको विभागले जनाएको छ ।

ती कलेजको प्रशासन कक्षमा पनि सिलबन्दी गरिएको छ । ती कलेजहरूले विवरण, तथ्यांक र सञ्चालक समितिका निर्णय लुकाएपछि विभागले टोली खटाएको थियो । यस्तै, विभागद्वारा थप छानबिन थालिएका कलेजमा युनिभर्सल कलेज अफ मेडिकल साइन्स, गण्डकी मेडिकल कलेज, किस्ट मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज, देवदह मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, विराट मेडिकल कलेज, शिक्षण अस्पताल, काठमाडांै मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्स छन् ।

 तोकेकोभन्दा १५ लाखसम्म बढी रकम असुलेको भन्दै विद्यार्थीले आन्दोलन चर्काएका छन् । विद्यार्थीहरूले अवैध रूपमा उठाइएको रकम फिर्ता नभएसम्म परीक्षासमेत सरकारलेबहिष्कार गर्ने निर्णय गरेका छन् । मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा छन् । सरकारले पनि अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक–पटक निर्देशन दिदैं आएको छ

शिक्षा मन्त्रालयले भने बढी शुल्क लिने कलेजहरूलाई ठगी मुद्दा चलाउन गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको थियो ।

छानबिनका क्रममा मेडिकल कलेजहरूले प्रतिविद्यार्थी २ लाखदेखि २५ लाख ४१ हजार रुपैयाम्म अतिरिक्त शुल्क उठाउने गरेको पाइएको थियो । मेडिकल कलेजहरूले शैक्षिक वर्ष २०१४ देखि २०१८ सम्ममा विभिन्न शीर्षकअन्तर्गत अतिरिक्त शुल्क असुल गरेको केन्द्रको दाबी छ ।

सरकारले शैक्षिक सत्र २०७६÷७७ का लागि एमबीबीएसतर्फ काठमाडांै उपत्यकाभित्र ४० लाख २३ हजार २५० र उपत्यका बाहिरका लागि ४४ लाख ३६ हजार २५ एवं बीडीएसतर्फ २० लाख १९ हजार ५८० कायम गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा तोकेको भन्दा बढी शुल्क लिएर मेडिकल कलेजले शोषण गरेको बताए । उनले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क सरकारले फिर्ता गराएरै छाड्ने बताए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata