बिग्रेको मेशिनबाट काम चलाउँदै स्वास्थ्यकर्मी

बुधबार, पुस ११, २०७५

- सलिम अन्सारी



प्युठान । प्यूठान नगरपालिका–१ स्थित दाखाक्वाडी स्वास्थ्य चौकीमा विगत एक वर्षदेखि बिग्रिएको प्रेसर जाँच्ने (विपी) मेशिनबाट स्वास्थ्य कर्मीले काम चलाउँदै आइरहेका छन् ।

स्वास्थ्य जस्ताे संवेदनसिल क्षेत्रमा स्वास्थ्यकर्मीको लापरबाहीकाे कारण ब्रिगेकै मेसिनबाट काम चलाइरहेको पाइएको हो ।   सेवा लिन आउने विरामीलाई शुरुकै चरणमा प्रेसर जाँच गर्नुपर्ने भएपनि स्वास्थ्यकर्मीहरुले ‘हेलच्क्रयाइ’ गरेका छन् ।

विरामीको रक्तचाप(प्रेसर)लाई अनुमानकै भरमा औषधी दिने गरिएको छ । प्रेसर मेशिन विग्रिएपछि मर्मत गर्न नमिल्ने भएकाले नयाँ खरिद गर्ने तर्फ सम्वन्धित निकायले वेवास्ता गरेको  स्वास्थ्यकर्मीकाे भनाई रहेको छ ।

पटक-पटक जिल्ला जनस्वास्थ्य र प्यूठान नगरपालिका कार्यालयमा मेशिन सहित अन्य सामग्री खरिदका लागि माग फारम बुझाए पनि सुनुवाई नभएको स्वास्थ्य चौकी निमित्त इन्चार्ज मोती कुमारी केसीले गुनासो गरिन् । ‘आन्तरिक स्रोतमा पैसा छ तर त्यसबाट खरिद नगरिएकाे गुनासाे गरिन् । जिल्लाबाट कुनै चासो नदिएकाे र स्थानीय तहपछि अत्यावश्यक सामग्री माग गर्ने निकाय प्रष्ट नहुँदा काम गर्न अन्यौलता भइरहेको उनको भनाई छ ।

स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिको वैठक बस्न नसक्दा काम गर्नमा असहजता भइरहेको उनी बताउछिन् । स्वास्थ्य चौकीको आन्तरिक खातामा रकम भएर पनि मेशिन खरिद गर्ने तर्फ कार्यरत स्वास्थ्यकर्मी र व्यवस्थापन समितिले चासो नदेखाउनु गैर जिम्मेवार भएको स्थानीयवासीको आरोप छ । औषधी व्यवसायीहरुका अनुसार न्यूनतम दुई हजार देखि अधिकतम दश हजार पाँच सय रुपैयाँ सम्ममा उक्त मेशिन खरिद गर्न सकिन्छ ।

प्यूठान नगरपालिका कार्यालदेखि टाढाको दुरीमा अवस्थित उक्त स्वास्थ्य चौकीमा दाखा क्वाडीको भलावाङ, सालघारी, धाइरेचौर, फूलघाट र माण्डवी गाउँपालिकाको मार्सिवाङबाट विरामीहरु सेवा लिन आउने गर्छन् । जिर्ण भवनबाट संचालित स्वास्थ्य चौकीमा काम गर्न असहज भइरहेको अनमी सृजना योगीले गुनासो पोखिन् । ‘एउटा टेबलमा चार जनाले काम गर्छौ’,उनले भनिन्‘अभावै अभावमा सेवा दिनु परेको छ ।’

स्वास्थ्यसँग सम्वन्धित सरोकारवाला निकायका जिम्मेवार अधिकारीहरु बेलाबेला अनुगमनमा पुग्ने गर्छन् । तर, उनीहरुको अनुगमन औपचारिकता मै सिमित हुँदा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरु जिम्मेवार बन्न नसकेको पाइएको छ । संघीय संरचना पछि कार्यक्रम संचालनका लागि बजेट नआएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । स्वास्थ्य संस्थामा अत्यावश्यक पर्ने मेशिन, औजारहरु खरिद गर्न सम्वन्धित कार्यालयका कर्मचारी जिम्मेवार बन्नुपर्ने उनको भनाई छ ।

हाल स्थानीय तहमा निःशुल्क औषधी खरिदमा मात्र जन प्रतिनिधीहरुको ध्यान पुगेको बताउँदै सुवेदीले अत्यावश्यक मेशिन, उपकरण खरिदमा समेत चासो दिन सुझाव दिए ।

183 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank