मेयरकप फुटबल प्रतियोगिता माघ १६ देखि

बिहिबार, माघ ११, २०७४



बागलुङ । बागलुङमा हुने ४ नं प्रदेश स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ को तयारी तीव्र पारिएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता यही माघ १६ देखि २२ गतेसम्म चल्नेछ ।

नगरपालिकाले प्रतियोगिता सञ्चालन र व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई दिएको छ । प्रतियोगिताको व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष धनबहादुर परियारले बताए ।

उनका अनुसार प्रतियोगितामा सहभागिताको लागि ४ नं प्रदेशका २६ वटै नगरपालिकालाई पत्राचार गरिएको छ । प्रतियोगितामा १५ देखि २० वटा टिम सहभागी हुने अपेक्षा लिइएको छ ।

स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

नगरपालिका आफैँले पहिलोपटक ठूलो राशिको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको विजेताले नगद पुरस्कार रु दुई लाख २२ हजार २२२ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments