मतगणना सुरु, कुन दलले कति सिट जित्लान ? यस्तो छ हिसाव

बिहिबार, मंसिर २१, २०७४

loading...


काठमाडौं । चुनाव सकिएसँगै मतगणना हुँदैछ । मंसिर १० गते पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामा साँझ ६ बजेसम्ममा मतगणना सुरु गरिसक्ने तयारी छ । मतदान सकिएको ११ दिनपछि मतगणना गर्न मुचुल्काको काम ५ बजेसम्म सकिएको छ । त्यसैले ४५ जिल्लामा आज मतदान सकिएलगत्तै ३२ जिल्लाको मतगणना सुरु गर्न लागिएको हो । दोस्रो चरणमा भएको मतदानको गणना पनि रातीबाट नै सुरु गर्ने तयारी छ । पहिलो चरणमा मतदान भएका केही जिल्लाहरुमा सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने तयारी गरिसकेका छन् ।

प्रदेश नम्बर एकका ७ म्धये ६ वटा जिल्लाका ६ वटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । पहिलो चरणमा चुनाव भएका ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, संखुवासभा, ताप्लेजुङ र पाँचथरमा मंसीर १० गते भएको मतदानको मतगणना भर्खरै सुरु भएको छ । खोटाङमा भने सातबजेपछि मात्रै मत गणना सुरु हुने भएको छ ।

प्रदेश नम्वर ३ का १३ जिल्लामध्ये पहिलो चरणमा चुनाव भएका ६ जिल्लामध्ये तीन जिल्लामा बेलुका ५ बजेदेखि मतगणना शुरु भएको छ । रसुवा, रामेछाप, सिन्धुपाल्चोक र धादिङगमा मत गणना सुरु भएको छ भने नुवाकोटमा २ घण्टापछि ७ बजेदेखि मत गणना गर्ने तयारी छ । दोलखामा भने मत गणना सुरु गर्ने नगर्नेमा छलफल नै चलिरहेको छ ।

लेखा-जोखा

मतगणना सुरु गर्ने तयारीसँगै दलहरुले चुनावी नतिजाको लेखा जोखा पनि सुरु गरेका छन् । एमाले–नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेस तथा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दुवैले संघीय नेपालको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् । ।

चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका साथै राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धन निर्वाचन प्रचारको समयावधि सकिनै लाग्दा आ–आफ्नै जोडघटाउ र दाबीमा रहेका हुन् ।

केन्द्रीय सरकारसँगै प्रदेश सरकार पनि आफ्नै नेतृत्वमा रहने दाबी लोकतान्त्रिक एवं वाम गठबन्धन दुवैले गरेका छन् । मधेसवादी गठबन्धनले भने केन्द्रीय सरकार निर्माणमा महत्वपूर्ण भूमिका रहने र प्रदेश २ मा आफ्नै नेतृत्वमा प्रदेश सरकार बनाउने दाबी गरेको छ ।

– कांग्रेस नेता गोपालमान श्रेष्ठले लोकतान्त्रिक गठबन्धनले प्रतिनिधिसभातर्फको १ सय ६५ सिट र प्रदेशसभातर्फको ३ सय २० सिटमा ५५ प्रतिशत सिटसहित स्पष्ट बहुमत ल्याउने र आफ्नै नेतृत्वमा केन्द्रीय सरकारसहित सातवटै प्रदेशमा प्रदेश सरकार गठन गर्ने दाबी गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी क्न्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३२ जिल्लाको समीक्षा गर्दा दुई तिहाइ बढी सिट जित्ने आँकलन यसअघि गरिसकेका छन् । दोस्रोका लागि शुक्रबार छलफल गर्नेछन् ।

एमाले महासचिव ईश्वर पोखरेलले प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभाको ३ सय २० सिटमा वाम गठबन्धनले ८० देखि ८५ प्रतिशत सिट जित्ने दाबी गरे । दुई तिहाइभन्दा बढी सिट संख्या जितेर केन्द्रीय सरकारका साथै सातवटै प्रदेशमा वाम गठबन्धनको प्रदेश सरकार पनि गठन गर्ने उनले बताए ।

– फोरम नेपालका महासचिव रामसहाय यादवले प्रदेश २ मा दुई तिहाइभन्दा बढी सिट जितेर प्रदेश सरकार गठन गर्ने निश्चित भएको बताए । राजपा नेपालका महासचिव अजय गुप्ताले मधेसवादी गठबन्धनले प्रतिनिधिसभातर्फ ५० भन्दा बढी सिट जित्ने दाबी गरेका छन् ।

1599 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank