स्ववियू सभापतिको पहलमा जिल्लामै मास्टर डिग्रीको पढाइ

बुधबार, जेष्ठ २, २०७५



बाजुरा । दुर्गम जिल्लाका विद्यार्थी शैक्षिक सामाग्री र भौतिक पूर्वाधारको अभावमा उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएको समाचार बेला–बेलामा आउने गरेको छ । दुर्गम हिमाली जिल्ला बाजुराबासीले अव मास्टर डिग्री जिल्लामै पढ्न पाउने भएका छन् । बाजुरा क्याम्पस मार्तडीमा मास्टर डिग्रीको पढाइ हुन लागेको हो । अब उक्त क्याम्पसमा एजुकेशन प्लानिङ म्यानेटमेन्ट (इपीएम), र नेपालीमा मास्टर डिग्री पढ्न पाइने छ । अहिलेसम्म उक्त क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापनमा स्नातकसम्म पढाइ हुँदै आएको छ ।

मास्टर डिग्री पढ्न जिल्ला छाड्नु नपर्ने

स्ववियू सभापति चेतन अयडीले यस शैक्षिक सत्रबाट पहिलो पटक जिल्लामा मास्टर डिग्रीको पढाइ हुन लागेको जनाए । उनले आफू स्ववियू सभापति उम्मेदवार हुँदादेखि नै उठाएका एजेण्डामा मध्ये बाजुरा क्याम्पसलाई आंगिक क्याम्पस बनाउने र मास्टर डिग्रीसम्मको शिक्षा जिल्लाबाट नै उपलब्ध गराउनुका साथै १२ लाख बराबरको शैक्षिक सामग्री उपलब्ध गराउने एजेण्डा अनुसार काम भइरहेको बताए । उनले भने ‘स्नातक गरेका विद्यार्थीले स्नात्तकोत्तर गर्न जिल्ला बाहिरका शहर जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।’

प्रतिवद्धता अनुरुपको काम

मास्टर डिग्री अध्ययनका लागि अयडीसहित क्याम्पसका प्रतिनिधिहरूले पटक–पटक त्रिभुवन विश्वविद्यालय शिक्षा प्रशासन डिनको कार्यालयमा आग्रह गरेका थिए । धेरै प्रयासपछि जिल्लामै मास्टर डिग्री पढाउने योजना सफल भएको उनी बताउँछन् ।
उनले क्याम्पसमा पाठ्यपुस्तकको अभाव नहोस भनेर पुस्तक संकलन अभियान थालेको समेत जनाए । ‘आफ्नो कार्यकालमा करिब १२ लाख बराबरको पुस्तक संकलन गरी क्याम्पसलाई हस्तान्तरण गर्ने योजना अनुसार हालसम्म १ लाख ५० हजार बराबरको पुस्तक संकलन गरि क्याम्पसलाई हस्तान्तरण गरिएको छ ।’ उनले भने ।

फ्रि वाइफाई

विद्यार्थीलाई डिजिटल जमानाअनुसार अगाडि बढाउन फ्रि वाइफाईको समेत व्यवस्था गरिएको सभापति अयडीले बताए । स्ववियूकै पहलमा क्याम्पसको क्यालेण्डर निर्माण, बार्षिक कार्ययोजना, कम्युटर शिक्षाको व्यवस्था गरिएको उनले जनाए । शैक्षिक सवाललाई ध्यानमा राख्दै, विद्यार्थीलाई शैक्षिक भ्रमण, बनभोज, खेलकुदका लगायतका क्षेत्रमा समेत गतिविधि गर्दै आएको उनले जनाए । शैक्षिक बुलेटिन प्रकाशन, गरिव र जेहेन्दार विद्यार्थीलाई निःशुल्क बढाउने योजना समेत अगाडि बढाएको उनले बताए ।

199 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank