मसूद अजहर यूएनको आतङ्कवादी सूचीमा

बिहिबार, बैशाख १९, २०७६



एजेन्सी । भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण गराउने समूहका नेतालाई संयुक्त राष्ट्रसङ्घले आतङ्कवादी घोषणा गरेको छ।  गत फेब्रुअरीमा कश्मीरको पुलवामामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जानेगरी ठूलो विस्फोटन आक्रमण गरेको जैश-ए-मोहम्मद समूहका प्रमुख मसूद अजहरलाई  राष्ट्रसङ्घले आतङ्कवादी घोषणा गरेको हो ।

चीनले उक्त समूह बारेको आफ्नो अडान छाडेपछि संयुक्त राष्ट्रसङ्घले त्यस्तो निर्णय गरेको बीबीसीले जनाएको छ।

यसअघि चीनले उक्त प्रस्तावबारे अध्ययन गर्न थप समय चाहिने भन्दै त्यस्तो प्रस्ताव स्थगित गराउन अनुरोध गरेको थियो। भारतले यसलाई आफ्नो कूटनीतिक जितको रूपमा हेरेको छ। यस निर्णयसँगै मसूदको सम्पत्ति रोक्का र यात्रा प्रतिबन्धहरू लाग्नेछन्।

‘ठूला, साना सबै (देश)ले साथ दिएका छन्। संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध सूचीमा मसूद अजहर आतङ्कवादी घोषित भएका छन्। सबैको सहयोगका लागि हामी कृतज्ञ छौँ,’ राष्ट्रसङ्घका लागि भारतीय राजदूत सैयद अकबरुद्दिनले ट्वीट गरेका छन्।

के हो मसूदको जैश-ए-मोहम्मद?

जैश-ए-मोहम्मदको शाब्दिक अर्थ मोहम्मदको सेना हुन्छ।

सन् १९९९ मा इन्डियन एअरलाइन्सको विमान अपहरणकर्ताहरूको मागबमोजिम यात्रुहरूलाई सकुशल छाडिदिने शर्तमा भारतले रिहा गरिदिएको मसूद अजहरले नै उक्त समूहको गठन गरेका हुन्।त्यतिखेर सो विमानलाई काठमाण्डूबाट अपहरण गरेर तालिबान प्रशासित अफगानिस्तान पुर्‍याइएको थियो।

सो देशमा रहँदा अजहरले भूतपूर्व तालिबान नेता मुल्लाह ओमार तथा अल कायदाका नेता ओसामा बिन लादेनसँग भेटेको बताइन्छ।दिल्लीस्थित भारतको केन्द्रीय संसद्‌मा सन् २००१ को डिसेम्बरमा आक्रमण गरेको दोष भारतले जैश-ए-मोहम्मदमाथि लगाएको छ।

उक्त घटनालगत्तै पाकिस्तानले औपचारिक रूपमा उक्त समूहमाथि प्रतिबन्ध लगायो। तर सो समूह अझै सक्रिय रहेको ठानिन्छ र बेलाबखत त्यसले अफजल गुरु गुट, अल-मुराबितुन तथा तहरिक-ए-फुर्कानजस्ता विभिन्न नाममा आफ्ना गतिविधि सञ्चालन गर्ने गर्छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments