मर्मेड

शनिबार, अशोज १३, २०७५

- अनल गौतम



हालसालैको कुरा हो । शारिरीक काम ले त के नै पो थाकिन्थ्यो र, कामै पो के गर्छु र शारिरीक रुपमा आजकाल । केही आन्तरीक केहि बाह्य गल्गाङ गुलुङ र कल्याङ कुलुङले मानसिक रुपमा भने एकदमै सिथिल भएं अफिसमा एक दिन । यसो फ्रेस हुन बाहिर निस्कुं भने पनि नमिल्ने । अफिसमै बसीरहदा पटक्कै शान्त बन्न सकिएन । के गर्ने भन्ने सोच्दा सोच्दै केहि बेर इन्टरनेटमा भुल्छु भन्ठानें । कफी मगाएर कफीको चुस्कीसँगै आफ्नो क्याबिनको ढोका बन्द गरेर इन्टरनेट चलाउन थालें । मन अशान्त भएको बेला के हेर्ने ? के खोज्ने ? के सुन्ने ? के पो मेसो पाउन सकिन्थ्यो र ।

धेरै पछि अफिसको समयमा इन्टरनेट चलाएको त्यै माथी यो तनावयुक्त मानसिक अवस्थामा । के हेरु हेरु भयो । फेसवुुक चलाउं त निकै धेरै म्यासेजहरु आएका होलान । पोष्टहरु भएका होलान । ती सवैको जवाफ दिन नसकिएला बरु त्यो भन्दा कुनै छोटो कमेडी मुभी हेर्न मन लाग्यो । युट्वमा गएर अमेजीड कमेडी सर्ट मुभी सर्च गरेको थौचो वा पाँचौं लाईनको एउटा तस्बीरमा मेरो नजर रोकीयो । टक्कै अडियो मेरो मन ।

जुन तस्वीर जलकन्या अथवा जलपरी अथवा मत्स्यकन्याको थियो । हत्त त पत्त क्लीक गरीहालें के रहेछ भन्दै तर बाहिर फोटो मात्रै जलपरीको रहेको तर भित्र बिषय बस्तु भने अर्कै थियो । कुनै गितको पो भिडियो रहेछ । त्यो क्लीपबाट बाहिर आएर त्यही जलपरी अथवा मत्स्यकन्याको फोटोलाई मात्रै ध्यान दिन थालें । बढो सुन्दर, अनौठो र प्रकृतिको गजवको नमुना लाग्यो मलाई त्यो तस्वीर । निकै घोरेर हेरीरहें मैले । हिजो कथा सुनेकै हो नि मैले । हामी सवैैले । हाम्रा बुजुर्गहरुबाट बिभिन्न खालका कथाहरु, किम्बदन्ती भनौं वा लोक कथा भनौं । दन्तकथा भनौं वा मनोगढन्त भनौं । कपोकल्पीत भनौं वा जे भनौं तर शायद तीनमा केहि यथार्थता थिए पनि की ? सम्भवत हामीले प्रत्यक्ष रुपमा कहिल्यै नदेखेका विभिन्न देवी देवताका कथा । दैत्य दानवका कथा । कथित बोक्सी किचकण्डकीका कथा । बीर मसानका कथा । भुत प्रेतका कथा । वन मानव अनि हिम मानवका कथा । आत्माको कथा । हाम्रा पितृहरुको कथा । आकाशमा विचरण गर्ने परिका कथा जस्तै समुद्रमा रहने जलकन्या अथवा जलपरी अथवा मत्स्यकन्याको कथा ।

g

हामीले सुनेका अन्य कथाहरु पनि हाम्रा पिता पुर्खाले देखे भोगेका होलान वा नहोलान पनि । तीनको सत्यता होला वा नहोला पनि । तर हाम्रो जस्तो समुद्र नभएको मुलुकमा जलपरी वा मत्स्यकन्याको कथा कसरी आयो होला ? कसरी थाहा भयो होला उहाँहरुलाई भन्ने कौतुहतला जाग्न थालेको थियो मलाई केहि सामान्य कुराहरु बुझ्ने उमेर देखी नै । वास्तवमा वाल्यकाल देखी नै म मत्यकन्या अथवा जलपरीको कथाबाट निकै प्रभावित भएको थिएं । मलाई मेरा अग्रजहरुबाट सुनाईएको सुन्दर र कामुक जलकन्या भन्दा पनि धेरै मनमोहक झैं लाग्दै थियो यो जलपरी अथवा मत्स्यकन्याको तस्वीर । म सँंग केहि बोल्न वा मलाई केहि भन्न खोजे झैं गरी । त्यो तस्वीरले मलाई यति सम्म प्रभावमा पार्यो की यसलाई म सम्झना वा कल्पनामा मात्र राख्न चाहन्नथें अब । सधैं आफ्नो आँखाको सामुन्ने राखी राख्नको लागी ईच्छा लाग्यो ।

म यो तस्बीरलाई ठुलो साईजमा प्रीण्ट गराई फ्रेमीङ गरेर आफ्नो बेडरुममा राख्छु भन्ठान्दै फोटो प्रीन्ट गर्ने कलर ल्याबमा पठाउन डाउनलोड मात्रै गर्न के लागेको थिएं झट्ट सम्झीएं प्रसिद्ध कलाकार आर बि भोलालाई । तीन दशक भन्दा अघि देखी चित्रकारितामा आफु र आफ्नो जीवनलाई सम्पर्ण गरी सक्नु भएको आर बि भोला निकै चर्चित अनि दक्ष कलाकार हुनुहुन्छ । उहाँले नेपालमा मात्रै होईन विदेशका समेत धेरै ठाउँहरुमा आफ्नो चित्रहरुको प्रदर्शनी निकै पटक गरीसक्नु भएको छ । खुबै नाम मान सम्मान बटल्नु भएको छ । तर अमुर्त अनि तैलीय चित्रकलामा विशेष दख्खल राख्नुहुने उहाँले धेरै बर्ष देखी कुनै पेन्टीङ गर्नु भएको छैन् । छोड्नु भएको थियो आफ्नो कलाकारीता । अहिले मेरो लामो समयको अनुरोध अझ भन्दा जवरजस्त जिद्दी गरे पश्चात हालसालै मात्र पुन पेन्टीङमा आफ्नो भावना बगाउन सुरु गर्नु भएको छ उहाँले ।

फोटो प्रीन्ट गर्नु भन्दा भोला दाई बाटै यो तस्वीरलाई चित्रको रुपमा क्यानभासमा उतार्न लगाउने पो हो की जस्तो लाग्यो मलाई । उहाँसँग पहिला सल्लाह गर्छु यसको पेन्टीङ गर्ने नगर्ने के भन्नु हुन्छ अनि जे गर्नुृ पर्छ गरौंला भन्ठानी डाउनलोड गरीन । आफ्नो मष्तीस्कमा भने प्रष्टसँग छापें यो तस्वीर । किन किन यो तस्वीरको सम्मोहनले मलाई पटक्कै उम्कन दिएन । मेरा अग्रजबाट सुनाइएको कथा र यो तस्वीरकोबीचको भिन्नता केलाउन थालें । आजको सुचना संचारको युग, एक्काईसौं शताब्दीमा भए हो विभिन्न पत्र पत्रिका, टिभी, ईन्टरनेट आदिबाट थाहा पाएका हुन्थे होलान हाम्रा पिता पुर्खाले यस्ता जलपरी वा जलकन्या वा मत्स्यकन्याका विषयमा ।

अझ मत्स्यकन्याकै चित्रण गरीएको खुबै लोकप्रीय हलिवुडको जोनी डिपद्वारा अभिनित सिनेमा पाईरटस् अफ क्याराबीयन जस्तै अन्य सिनेमाहरुको माध्यमबाट पनि अनुमान गरीन्थ्यो होला । तर उती बेला हाम्रा पिता पुर्खालाई यस्तो बिषयमा जानकारी दिने कुनै पनि माध्यम थिएन भने के उनीहरुले हाम्रो धर्मशास्त्रका रामायण, भागवत, महाभारत र अन्य पुराणहरु जस्ता धार्मिक ग्रन्थहरुबाट थाहा पाएका होलान त ?

नत्र कसरी सुन्थ्यौ होला त हामीले ति मत्स्यकन्याका कथा वहांहरुबाट भनी वाल्यकाल देखी सुनी आएको मत्स्यकन्याको तस्वीर अहिले आफ्नो आँखा अघिल्तीर राखेर टटोल्दै गम्न पो थालें । कि मत्स्यकन्या पनि यतिको कथा जस्तै त होईन ? हिमालमा हुने भनिएको हिममानव यतीमा अनेकन सिनेमाहरु बनिएका छन् । निकै खोजी र अनुसन्धानहरु भएका छन् । केहि व्यक्तीहरुले आफुंले यतिलाई देखेको पनि दावी गर्छन । कतिपयले यतिको पाईलाको डोबको अध्ययन गर्छन् तर पुष्टी खासै स्पष्ट भने भएको छैन अझै पनि ।

यस्तै मत्स्यकन्यालाई पनि विभिन्न धर्मशास्त्रहरुमा समेत वर्णन पो गरिएको छ त । यस धर्तीमा धेरै खालका धर्महरुको अनुसरण गरिन्छ । जुनसुकै धर्मका हुन् धर्ममा आस्था राख्ने हरेक व्यक्तीले आआफ्नो धर्म ग्रन्थको सम्मान गर्दछु । ती ग्रन्थहरुमा पुजनीय भनीएका पात्रहरुको पुजा आराधना गर्दछ । अझ भनौं कुनै गाहे साँघुरो वा बिपत्ती पर्दा तिनै पात्रहरुको स्मरण गर्दछ । शरण पर्दछ र तीनकै प्रार्थना गर्दछ । धर्म ग्रन्थमा उल्लेख गरीएका नियम र सिद्धान्तहरुको पालन गर्दछ वा केहि हद सम्म भएतापनी पालन गर्ने कोशिस गर्दछ । ती ग्रन्थहरुमा वर्णन गरीएका करिवन हरेक कुराहरुलाई सत्य ठान्दछ । कुनै विबादमा धार्मिक शक्ती नै एक हुन्छ् भने सबै भन्दा खतरनाक पनि धर्म युद्द नै हुन्छ ।

यदि यस्तो हो भने के अघि माथि उल्लेख गरीएका सबै खालका कथाहरु जो सबै हाम्रा धर्म ग्रन्थमा छन् ती सबैलाई साचों मान्ने हो त हामीले ? लौ, म त मत्स्यकन्याको तस्वीर हेर्दा हेर्दै त्यसमै डुब्दा डुब्दै के के पो सोच्न थालेछु । किन यो तस्वीरले मलाई यति धेरै नाना भातीका कुरा वा विषयहरु प्रति सोच्न घच्घचाउंदैछ म बुझ्नै सकिरहेको छैन । एक्काईसौं शताब्दीको ग्लोबल भिलेजको बासिन्दा भएर पनि किन मेरो मन ती पौराणीक कालका कथाहरुको कल्पनामा डुबुल्की मार्दैैछ ? हामी आजको आधुनिक युगको मानव हौं । अन्धविश्वासमा लाग्दैनौं । कपोलकल्पीत कुराहरु मान्दैनौं । रुढीवादी कुराहरुको बिरोध गर्छौ भन्छौं । यहाँ कुनै भुत प्रेतको अस्थीत्व नै छैन । यो सबै वाईयात र वकवास हो भन्छौं ।

यदि त्यसो हो भने हामी किन विभिन्न देबी देबताको पुजा गर्छौ होला ? किन बिबिध कर्मकाण्डहरु गर्छौ होला ? किन मान्छे मरे पश्चात किरीया बस्छौं होला ? किन न्वारन पास्नी ब्रतबन्ध बैदिक बिबाह आदि गर्छौ होला ? आखिर ती सबै पनि त हाम्रा पिता पुर्खाले धर्मग्रन्थ बमोजीम नै चलाई आएका चलन वा मान्दै आएका संस्कार त हुन् नि । तीनलाई हामीले त्याग्न सकेका छैनौं भने तीनै धर्मग्रन्थमा वर्णित ती विबिध कथाहरुलाई चाहिँ किन रुढीबादी र अन्धविश्वास मान्छौं होला हामी ?

शायद यी सबै कुराहरुलाई कथित पण्डीतहरुले ठग्ने मेसो बनाई आएका हुन् की सभ्यताको सुरुवात देखी नै वा धर्मभिरुहरुले आफ्नो उपल्लो अस्थीत्व जोगाई राख्न यी सबै चलन चलाई आएका हुन् की वा यी सबै हाम्रा संस्कारहरुको पछाडि तर्क संगत बैज्ञानिक कारण पनि छ की ? त्यसो नै हो भने पनि आजका युगका तपाई हामीले भन्दा हाम्रा पिता पुर्खा अत्यन्त बिद्वान पो ठहरीनु भएछ कि क्या हो ? बैज्ञानिक कारण भएका विभिन्न रिति स्थिती अनि संस्कारहरुको अनुसरण पो गर्नु हुँदो रहेछ त । जुन हामीले पुर्ण रुपमा पालन गर्न सकेका छैनौं होलाकी आजको समयमा । तीनकै अनुसरण गर्दै सबै हामीलाई राम्रा लाग्ने वा मन पर्ने कुराहरुको समर्थन गर्ने अनि नराम्रो लागेका मन नपरेका कुराहरु चाहिं हुदै होइनन् वकवास र वाहियात हुन् तीनको अस्थीत्व नै छैन भन्ने गरेका त छैनौं कतै हामी ? हाम्रो यो सोच सहि होला की गलत होला त ? लौ, कहाँबाट फेरी मन कहाँ पुग्दैछ मेरो । मत्स्यकन्याको सम्मोहनले मलाई कता लैजादैं छ ? किन म मेरा पिता पुर्खाबाट सुनिएका कहानीको बिषयमै चिन्तीत भएर यो तस्वीरलाई गमीरहेको छु ?

किन विबिध प्रकारका धार्मिक ऐतिहासीक बिषयहरु अनि हाम्रा संस्कारको बिषयमा सोच्दैछु ?वास्तवमा मेरो तत्कालीन ध्येय भनेको त मात्रै यो जलपरिको तस्वीर प्रतिको आकर्षण मात्रै हो जसलाई आफ्नै सामुन्ने राखी राख्न ठुलो साईजमा प्रीन्ट गर्ने वा पेन्टीङ गर्न लगाउने भन्ने मात्रै ध्येय न हो । तर अहिले म त आफैंलाई आंफैंसँग अनेकानेक प्रश्न पो गर्न थालिसकेछु । हामी हाम्रा हरेक चाड पर्वहरु असत्य माथी सत्यको विजय वा दानव माथी देबताको विजय वा गलत तत्वको नाश गरेको उपलक्ष्यमा भनि भव्य र उल्लासका साथ मनाउँछौं शायद ।

त्यहि विजय प्राप्त गरेको सहि तत्वको पुजा गर्छौ अनि पराजीत गलत तत्वको यो संसारमा अस्थीत्व नै छैन त भन्दै छैनौं ? म साँच्चै दिग्भ्रमीत बनीसकेछु । मलाई यो मत्स्यकन्याको तस्वीरले जादु गरेकै हो त ? म फेरी सोच्न थालें । जति बिरामी पर्दा अस्पताल जानेको संख्या बढेको छ, त्यस्तै समस्या पर्दा झांक्री वा झार फुक गर्नेकोमा जानेको संख्या पनि उत्ति नै बढ्दो पो छ की त । जसरी कर्म नै धर्म हो भन्नेहरु बढेका छन् त्यसैगरी मन्दीर धाउनेको संख्या पनि पो बढेको छ की त ?

जसरी प्राकृतिक, सांस्कृतिक, ऐतिहासीक वा अन्य पर्यटकहरु बढेका छन् त्यो भन्दा कैयौं गुणा बढी धार्मिक पर्यटकहरु पो बढेका छन् की त । जति हामी दिनानुदिन आधुनिक बन्दैछौं र आफुलाई सभ्य ठान्दैछौं उति उति हामी कुनै धर्मभिरु कथित स्वामीजी वा बाबाजी वा गुरुजी महाराजजीहरुको चरणमा नमन गर्दे तीनको शरणमा पुग्ने पो गरेका छौं की त ।

तिनलाई साष्टागं गर्दै तीनकै प्रवचन सुन्ने पो गरेका छौं की त । मेरो घरको छेवैमा मत्स्य फार्म थियो । माछा मलाई खुबै मन पथ्र्यो । माछालाई जती हेरे पनि हेरी रहुँ लाग्थ्यो ।

माछा निकाल्ने वा मार्ने बेलामा भने म हेर्न सक्दीनथें । माउ माछा निकै ठुलो आकारको हुने भएकोले कहिले काहिं त्यहाँका कर्मचारीहरुलाई माउ माछा देखाउन भने अनुरोध गर्थें । कुनै बेला मेरो अनुरोधले स्वीकृति पाएमा हेर्न पाईने निकै ठुलो आकारको माउ माछा देखेर निकै अचम्म लाग्थ्यो । आज ती सबै यादहरु ताजा भएर मेरा मानसपटलमा घुम्न थाल्दैछन् । मात्रै माछा नै माछा । माछाकै सिनेमा । माछाकै कथा । माछाकै तस्वीर । माछाकै कन्या अनि माछाकै कल्पना । म पनि पानि बिनाको माछा झैं बिभिन्न अनुत्तरीत प्रश्न र कौतुहलताको ओईरोमा बेरीएर छट्पटिन पो थालें । अचानक काम विशेषले मेरो क्याबिनको ढोका कसैले खोल्यो । म बल्ल माछा मोहबाट बाहिरीएं । माछा ध्यान भगं भयो । आफ्नो काममा लागें भरे अफिस सकेर भोला दाईकोमा पुग्छु पेन्टीङको लागी अनुरोध गर्न भन्ठान्दै । केहि असन्तुलीत मानसिकतालाई सन्तुलनमा ल्याउन इन्टरनेटमा भुलेको त त्यहीं देखीएको मत्स्यकन्याले उल्टो झनै धेरै असन्तुलीत बनायो मेरो मन । राम्ररी मन अन्त कतै लगाउनै सकिन् । जसो तसो आजको अफिसको काम सकेर म पुगी हालें आर बि भोला दाइकोमा । बेलुकी पख ।

उहाँ मुसुक्क हाँस्दै आर्ट स्टुडीयोको ढोका खोलेर मलाई स्वागत गर्दै हुनुहुन्थ्यो । मैले आर्ट स्टुडीयो भित्र छिर्दै दाई तपाई सँग केहि कुरा गर्नु छ । म तपाईलाई डिस्टर्ब गर्न चाहन्न, तपाई काम पनि गर्दै गर्नुस अनि मेरो कुरा पनि सुन्दै गर्नु होला भनें । उहाँ हस भन्दै क्यानभासमा रंग भर्न लाग्नु भयो । म उहाँकै छेउमा बसेर उहाँलाई मेरो मनको कौतुहलता मिल्ने र सक्ने सम्म व्यक्त गर्दै थिएं । आज आफुले देखेको तस्वीरको सबिस्तार बर्णन गरें । म कता कता त्यसको सम्मोहनमा परेको पो हो की पनि भनें । अनि त्यसैको चित्र क्यानभासमा उर्तान अनुरोध गरें । उहाँ ईलामको अन्तु डाँडाबाट देखिने मनमोहक सुर्योदयको पेन्टीङमा ब्रस चलाउँदा चलाउँदै कलर प्यालेट हातमै लिएर टक्क रोकिएर म पट्टी हेर्दै मुसुमुसु हाँस्दै आफ्ना लामा सेतै फुलेका अनि फ्रेन्च स्टाईलमा पालीएका दाह्ी मुसार्दै भन्नु भयो । ए, सरले मर्मेडको पेन्टीङ भन्नु भएको ?

मैले मर्मेडको पेन्टीङ पहिला धेरै वटा बनाईसकेको छु । विशेष गरी जापानमा यसको पेन्टीङ खुब लोकप्रीय छ । हुन्छ फेरी बनाउँछु हजुरको लागि । मैले पहिलो पटक थाहा पाएको थिएं । वास्ता नै भएन पहिला वा थाहा पाउने कोशीस नै गरेको थिईन यो भन्दा अघि कहिल्यै । मैले सुनेको, कल्पना गरेको अनि देखेको जलकन्या अथवा जलपरी अथवा मत्स्यकन्यालाई त अंगे्रजीमा मर्मेड पो भनिदो रहेछ । आफ्नो अंग्रेजी भाषा प्रतिको दखल कम भएकोमा केहि ग्लानी भयो । केहि लाज पनि लाग्यो आफैंलाई आफैं सँग । मेरो अनुरोधको स्वीकारोक्ती वाल्यकालमा माछा फार्मका कर्मचारी देखी लिएर हाल आर बि भोला दाईबाट आजका मिति सम्म भईरहदां साच्चैको सुखानुभुती हुन्छ मलाई । झन अहिले त उहाँले मत्स्यकन्या उर्फ मर्मेडको पेन्टीङ बनाउने हुनु भएको छ । मलाई थाहा थियो उहांले मैले भनेको जस्तै चित्र तयार पार्नु हुन्छ त्यसैले म दंग पर्दै घर फर्कें ।

अब मैले वाल्यकालमा सुनेको कथाको बिशेष पात्र, जलपरी अथवा मत्स्यकन्या अथवा मर्मेडको चित्र बन्नेछ अनि आफ्नै आँखाको अघिल्तीर राखेर हेरीरहनेछु । अब मैले इन्टरनेटबाट डाउनलोड गरी त्यसको ठुलो फोटो बनाएर आफ्नो रुममा सजाउनु पर्ने छैन । अब त म त्यसको पेन्टीङ नै बनाएर सजाउन सक्छु । भित्र भित्रै हाँसो पनि जाग्दै थियो । मैले जलपरी अथवा मत्स्यकन्याको पेन्टीङ बनाउने भनेको त मर्मेडको पो बन्ने भएछ भन्दै । प्रशन्न मुद्रामा घर फर्केर आएर खाना खाई वरी निदाउने उपक्रममा लागें । त निन्द्रा कहाँ लाग्थ्यो र मलाई आज । केहि लेखीरहन मन पराउने मान्छे म तर लेख्न पनि सकिरहेको छैन अहिले । लेख्न मनै छैन । कागज खाली छ । बिल्कुल सादा तर कलम नै सरिरहेको छैन मेरो ।

मेरो मनमा सोहि मत्स्यकन्या अर्थात मर्मेडको चित्र घुम्न थाल्यो । कहिले म सँग मेरै छेउमा बसेर बोलिरहेको जस्तो भने कहिले मेरो अघिल्तीर उभिएर मलाई नै बोलाईरहे जस्तो लाग्न थाल्यो । तर मैले त्यसलाई शब्दजालमा उतार्ने कोशिस मात्रै पनि गर्न सकिन । वाल्यकालमा सुनेको कहानि देखी ती मर्मेडमा बनिएका बिभिन्न सिनेमाहरु र ईन्टरनेटमा देखीएको तस्वीर अनि सोहि तस्वीरको चित्र कोर्न लगाईएको कल्पना र सम्झनाहरुमै रुमल्लीरह्यो मेरो मन । अन्तमा सोहि मर्मेडकै याद लिएर जबरजस्ती निदाउने कोशिस गरेर बेडमा पल्टीएं ।

मेरो अगाडी उनै मर्मेड आईन् । उनि पुर्ण प्राकृतिक रुपमा थिईन् । बिना कपडामा । उनि बिछट्टै राम्री थिईन् । प्रकृतिको अनुपम रचना, अभुतपुर्व सुन्दरता । ठ्याक्कै मैले इन्टरनेटमा देखेको जस्तै । सेतो र चम्कीलो छाला । लामा सर्लक्क परेका हातहरु । ठुला ठुला अनि निकै गहीरा लाग्ने निला आँखा । आँखा माथि लामा लामा परेली अनि अझै माथी निकै मसिनो धनुष झैं आँखी भौं । चौडा निधार । केहि घुम्रीएर उनको दुबै बक्षस्थल आधि जस्तो छोपेको लामो कपाल । भित्र पसेको पेटमा अत्यन्त कामुक देखिने नाभीको खाल्टोको मोहकता वा सुन्दरता अवर्णनिय थियो ।

साक्षात परी वा रती देबी झैं लाग्दैथिन उनि । उनी सुस्तरी मेरो अझ नजिक आईन् । मेरो टाउकोको छेवैमा आएर मेरो हात समाईन् अनि मलाई तानेर उठाईन् तर कुनै बल नै नगरी । म मानौं कुनै दुधे बालक आमाले तान्दा तानीए झैं गरी कुनै खेलौना सरी उठें । फुलको थुगों झैं हल्का महशुस गर्दै । म उठेर ठिक उनको सामुन्ने उभिएं । हाम्रा आँखा एक अर्काका आँंखामै केन्द्रीत थियो । ठिक आमने सामने थियौं हामी ।

हामी झण्डै छोएको अवस्थामा एक अर्कालाई हेर्दै उभेका थियौं । म पुर्ण रुपमा उनकै बसमा थिएं । मेरा आँखा एक टक रुपमा उनको उनको आँखामा केन्द्रीत थियो । चुम्बकले फलाम ताने झैं तानिएको थिएं म उनि प्रति ।

केहि बेरको हेरा हेर पश्चात मेरो कोठाको ढोका अचानक खुल्यो । मानौं कसैले रिमोट दबाएर खोलेको झैं गरी । उनले मलाई लिएर बिस्तारै मेरो कोठा अनि घर बाहिर निस्कीन । हामी निस्कीदै जान्थ्यौं हाम्रा बाटाहरु आफैं खुला भएझैं लाग्थ्यो । उनको छाँया जस्तै उनलाई नै पछ्छाईरहेको थिएं म । शायद अर्धचेतन अवस्थामा थिएं म त्यसैले होला हामी कहाँ जादैंछौं र कहां पुगेका छौं मैले थाहा नै पाईन । तर पुर्ण चकमन्न बाटाका हरेक दृश्यहरु निकै फरक लाग्दै थिए । जो मैले आफ्नो जीवनमा कहिल्यै देखेको थिईन । सबै कुरा निकै भिन्न थिए । बाटाहरु, छेउमा रहेका पहाड अनि रुख बिरुवाहरु, वातावरणको सुन्यता र हावाको सुवास सबै फरक थियो ।

उनी मेरो हात समातेरै हिंड्दै थिईन । उनैको कठपुतली झैं हिंड्दै पछी लाग्दै गर्दा हामि केहि समय पश्चात कुनै अनौठो किसीमको पहाडको भिरमा पुगेका थियौं । ठुलो विशाल चट्टानको ठाडो भिर तर न त त्यहाँ कुनै बोट बिरुवा आदि थिए न त ति सुक्खा नै लाग्दथे । शायद रातको समय थियो तर पनि पुर्णिमाको रात हुनु पर्दछ । पुर्ण चन्द्रको उज्यालोमा सधैंको भन्दा भिन्न उज्यालो प्रकाशमा मस्त नुहाईरहेको थियो पुरै वातावरण । भिरको छेउमा पुगेर उनि अनौठो शैलीमा केहि घुमेर रोकिईन । अघि सम्म अवचेतन वा अर्धचेतन अवस्थामा रहेको मेरो मन केहि चेतन अवस्थामा फर्कन थालेको आभाष भयो मलाई ।

मैले अहिले बल्ल केहि नियाल्न थालें उनलाई ।  उनको शिर देखी तल तीर नियाल्दै जाँदा उनको शरीरको तल्लो भाग देखें मैले । जसै उनको शरीरको तल्लो भागमा आँखा गयो आश्चर्य चकित भएं म । उनको शरीरको माथिल्लो भाग मात्रै त देखेको थिएं अघि मैले । ध्यान नै दिएको थिईन तल्लो भाग त माछाकै स्वरुपमा पो रहेछ । सम्पुर्ण रुपमा सुनौला र चम्कीला कत्लाहरु भएको ।

अनौठो शैलीमा पुच्छर हल्लीरहेको थियो उनको । उसै त उनको चम्कीलो छाला अहिले पुर्ण चन्द्रको उज्यालोमा अझैं तेजित बनेको थियो । अघि देखी उनी हिडिरहेकी रहिनछिन् । उनि त पुच्छर हल्लाउंदै सरीरहेकी पो रहिछीन । मैले बल्ल केहि केहि महशुस गर्दैथिएं उनलाई । तल्लो शरीर सम्पुर्ण माछाकै रुपमा रहेको उनले आफ्नो पुच्छर हल्लाउँदै पहाडको भिरमा पुगेर बल्ल अघि देखी समाईरहेको मेरो हात छोडिन् । मेरो हात छोडेर उनी म पट्टी नै फर्केर पछाडी सर्दै भिरको तर झर्न थालिन् । उनी निकै सुस्तरी आफसे आफ भिरबाट तल झर्दै गर्दा उनको स्वरुपमा अर्कै किसीमको परिवर्तन आउन थाल्यो । उनको टाउकामा अनौठा खालका फुलहरु पलाएर आए माला जस्तै गरी टाउकोको वरिपरी । न केहि समयमै उनको माछा र मानव आकृति छुट्टीएको ठिक कम्मरमा समेत टाउकोको झैं गरी भिन्नै प्रजातीको देखीइने फुलको माला बेरीएर आयो ।

म मात्र साक्षी वा दर्शक झैं उनलाई नियालीरहेको थिएं । कुनै प्रतिकृया बिहिन अवस्थामा । उनी भिरबाट केहि तल झरेर टक्क हावामै अडिन् । उनी अडि सकेपश्चात उनका आँखा र मुहारमा केहि गाम्भीर्यता छाउन थाल्यो । उनको सुनौलो कत्लाले भरीएको शरीरको तल्लो भाग केहि हरीयो केहि निलो हुन थाल्यो भने पुच्छरको तल्लो भाग भने बैजनी रंगमा परिवर्तन भयो । बिस्तारै आफ्नो अगाडी उत्तानो पारेर थापेको उनको दाहिने हातमा समेत उस्तै फुलको थुंगो देखा पर्यो । दाहिने हातमा फुलको थुड्गो भएकोले होला उनको देब्रे हात म पट्टी लम्काईन मेरो हात माग्दै । म केहि चेतन अवस्थामा फर्किएता पनि उनको सम्मोहनले पुर्ण रुपमा छोडीसकेको भने थिएन । म केहि सोच्न सक्ने वा भन्न सक्ने अवस्थामा थिईन् । उनले मेरो हात मागि सकेपछि मैले नदिने कुरै भएन् ।

जसै मैले उनको हात समाउन आफ्नो हात अघि बढाएं, झल्यास्स व्युझीएं म । मैले आंफुलाई आफ्नो ओछ्यानमा पाएं । पसिनै पसिनामा लथपथ अनि अति अस्तव्यस्त रुपमा । मेरा शरीरका सारा रौंहरु ठाडा भएका थिए । ओहो, मैले त सपना पो देखेको रहेछु । कस्तो अचम्मको सपना । हे भगवान, के सपना देखें मैले यस्तो ? दिउँसो इन्टरनेटमा देखेको र बेलुकी उनको चित्र कोर्न लगाएको त अहिले मेरो सपनामा नै पो आईछिन मर्मेड । उठ्न खोजें बेडबाट । हात खुट्टा नै चलेनन् राम्ररी । लल्याक लुलुक भएनछ हात खुट्टा । बल्ल बल्ल अलि जोड गरेर उठें । बाथरुम गएर असिन पसीन भएको मुख धोएर पुन निदाउन कोशीस गरें अब त्यस मर्मेडलाई सम्झीन्न भन्ठानी । सम्झीन्न भने पनि उनैको सुरु देखी अघिको सपना सम्मका दृष्यहरु मानसपटलमा छाईरहे । यता उता कोल्टे फेर्दा फेर्दै कति बेला निदाएं थाहै पाईन । भोलीपल्ट बिहानै आर बि भोला दाइको मा गएर उहाँलाई भेटी रातको घटना सुनाउन, मन लागेको थियो तर हिजो राती सुत्न अबेर भएकोले होला बिहान निकै ढिला ब्युझींएछु । अफिस पुग्न नै हतार भयो । भोला दाइकोमा पुग्न सकिन बिहान ।

आज दिनभरी त्यो मर्मेडकै सपनाको झझल्को आईरह्यो तर केहि व्यस्त भएकोले अफीसको समयमा पनि भोला दाईकोमा पुग्न सकिन । अफीस सकेर सांझमा भने छट्पटिदै आर बि भोला को मा पुगें । उनको घरको ढोका ढकढकाउँदै गर्दा सम्म पनि भोला दाईले मेरो मर्मेडको सपनामा विश्वास गर्नु हुन्छ कि हुन्न भन्ने बारेमै सोचिरहें ।

केहि बेरमा उहाँ पनि गम्भीरै अनुहार बोकेर ढोका खोल्न आउनु भयो । मेरो हिजो रातीको मर्मेडको सपनाको बारेमा वहांलाई कसरी भन्ने कुराको संकोच बढ्न थाल्यो । जे होला होला भनि उहाँलाई नमस्कार गर्दै उहाँको आर्ट स्टुडीयो छिरें ।

भोला दाई पहिलाकै मैले बनाउन अनुरोध गरेको सुर्योदयको पेन्टीङ बनाउंदै हुनुहुन्थ्यो । अन्तीम रुप दिदै हुनुहुन्थ्यो उहाँ सो सुर्योदयको पेन्टीङलाई तर यो पेन्टीड बनाउन ७ दिन अघि नै सुरु गर्नुभएको पनि अझै सक्नु भएनछ उहाँले ।

म केहि खिन्न भएं । मैले सोचे बमोजीमको गतीमा पेन्टीङ नभएको देखेर किनकी मलाई मर्मेडको चित्र छिटो भन्दा छिटो पाउन पाए हुन्थ्यो जस्तो लागेको थियो । म रातीको सपना भोला दाईलाई सुनाईहाल्न निकै व्यग्र थिएं । के भन्ने कसरी कुरा सुरु गर्ने भन्ने लागीरह्यो त्यसैले अरु नै बिषयका कुराहरु अनि मैले बनाउन अनुरोध गरेका अन्य पेन्टीङहरुको बारेमा कुरा गर्दै बसें ।

धेरै बेर बसीसके पश्चात मात्रै अब उहांले मेरो सपनाको कुरामा विश्वास गर्नु भयो भने ठिकै छ । गर्नु भएन भने जिस्केको भनौंला भन्दै सोधें मैले । दाई, यो सनराईजकै पेन्टीङ सकिएको रहेनछ मर्मेडको कहिले बनाउनु हुन्छ ? उहाँ म पटी फर्केर हाँस्नुभयो । सदा झैं सेतै फुलेका दाह्ी सुम्सुमाउंदै कोठाको अर्को कुनामा उल्टो पारी ठ्डाईएको क्यानभास उठाउँदै भन्नु भयो, मैले मर्मेडकोे चित्र अलि पछि नै बनाउंछु भनेको तर म कहिल्यै सपना नदेख्ने मान्छेले राती तपाईले मलाई हिजो बेलुकी ईन्टरनेटमा देखे बमोजीम बताउनु भएको मर्मेडकै सपना देखें । मेरो सपनामा आएको मर्मेड मैले पहिला कोरेको मर्मेडको चित्र भन्दा निकै फरक थियो ।

निद्राबाट व्युझें पछि फेरी निदाउनै सकिन त्यसैले हिजो राती देखी नै काम थालेर केहि नखाई आराम पनि नगरी केहि बेर अघि मात्रै सिध्याएँ । हेर्नुस त हजुरले भन्नु भए जस्तो भयो कि भएन । म छक्क परें । आश्र्चयको पत्र पत्र थुप्रीएर चाड लागीसकेको थियो मेरो मन मष्तीस्कमा हिजो देखी नियमित रुपमा घटिरहेका घटनाक्रमहरुले । हिजो मलाई आएको सपनाको बारेमा भन्छु भनेको त उहाँलाई समेत त्यहि सपना आएको रहेछ । उहि समयमा । अझै अचम्मको कुरा त सुर्योदयको पेन्टीङ बनाउन ७ दिन सम्म पनि नसकेकोेमा कसरी एकै रातमा त्यै पनि मैले बर्णन गरे अनुसार र उहांले पनि सपनीमा देख्नु भएको आधारमा मर्मेडको बनाउनु भयो होला ? कस्तो न चित्र बनाउनु भयो होला भनेर । जसै उहाँले क्यानभास म पट्टी फर्काउनु भयो म एक्कासी आत्तिएं । सिरिङ्ग भयो मेरो शरिर । लौन के हो यो ? उनी त ठीक त्यहि मर्मेड थिईन् जो हिजो मेरो सपनिमा आएकी थिईन् ।

उनी अहिले मेरो सामु त्यहि रुपमा चित्रको रुपमा थिईन् जुन रुपमा उनी रहँदा म निन्द्राबाट व्युझेंको थिएं । उनि अझैं आफ्नो हात म पटी बढाएर मेरो हात माग्दै थिईन् ।

232 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank