मलाई ‘आइ’ फोबिया’ छ

सोमवार, फाल्गुन ५, २०७६



निकै बेर तिम्रा नजरका
गुरिल्ला आक्रमणबाट जोगिएर जब छुटेथेँ
प्रहरीबाट भाग्दै गरेको चोर
लुक्न सफल भए झैँ
हतार हतार घर पुगेर
ढप्काएँ मूल ढोका
लगाएँ चुकुल र फेरेँ लामो सास
सोचेर खुसी भएथेँ कि
धन्न त्यही सात घुम्तीमै अल्मलिए
तिम्रा गुप्तचर आँखाहरू ।

अनायास फेरि हतासिएँ
जब देखेँ उनै अजीव आँखाहरू
हेरिरहेका भित्ताहरूबाट
सिलिङहरूबाट
ऐनाहरूबाट
ऊफ !
ओ अजनबि मान्छे !
बास माग्न आएका
तिम्रा एक जोर नेत्रहरूलाई
कता ठाउँ दिऊ?
दैलोमा या दलानमा ?
दिलमा या दलिनमा?
घरको चोटामा ?
या मनको पोल्टामा ?

कास जवाफ दिन सक्दा हुन् त यी अमुक लोचन
सोध्ने मन थियो
तिमीले अराएर आएका हुन्
या बाटो बिराएर आएका हुन्
यसै पछ्याएका हुन या
तिमीले पठाएका हुन् ?

ल माने एक छिन पिछा लगाइदियौ
तर किन?
देखभालको लागि
या छेकवारका लागि
चौकीदारका लागि
गुप्तचरका लागि?

कति सोमत नभएका यी आँखाहरू
पछ्याइदिन्छन्
सयनकक्षभित्र
स्नानकक्षभित्र
छोइदिन्छन् निर्वस्त्र
हेरिदिन्छन् यत्रतत्र
कसरी बचाउँ आफूलाई ?
छ्या कति बेसरम आँखा तिम्रा
हेरिदिन्छन् निर्लज्ज
नितान्त निजी अवयवहरू
सोचेथेँ मुख मोड्लान्
या पलक जोड्लान्
तर
अनिमेष हेरिरहेछन्
मलाई लज्जावती झैँ गुजुल्टो पारिरहन्छन्
आत्तिएर सोच्छु घरीघरी
कुनै डिब्बा हुँदो हो त
कैद गरिदिन्थे तिम्रा यी
जासुस जस्ता आँखाहरूलाई ।

ओ अजनबी मान्छे!
फेरि भेट्न बोलाउँदा
तिम्रा आँखा घरमै छोडेर आउनु
मलाई `आई फोबिया´ छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments