मकैले धानेको ज्ञानीमायाको जीवन

सोमवार, बैशाख ३१, २०७५

- एलीना कार्की



काठमाडौँ । जीवन सङघर्ष हो । सङघर्षमा हार नमान्नेहरू नै सफल हुन्छन् ।मेहनत गर्नेहरू जीन्दगीमा कहिल्यै हार खादैनन् । विभिन्न समस्यासँग मुकाविला गर्दै अगाडि बढिरहेका धेरै सङघर्षशील महिलाहरु हाम्रो समाजमा छन् । ती मध्ये एक हुन काभ्रे स्थायी घर भई हाल काठमाडौँको नयाँ बानेश्वरस्थित मिलीजुली चोकमा मकै पोलेर बेच्ने ज्ञानीमाया तामाङ ।

ज्ञानीमाया आज भन्दा १२ बर्ष अघि काठमाडौँ छिरेकी हुन् । उनको सङघर्षको कथा अरुको भन्दा फरक छ । मकै पोलेरै उनले तीनजनाको परिवार पालेकी छिन् । श्रीमान र उनको छोरा उनीसँग आश्रित छन् । गाउँमा पनि आफ्नो गरी खाने खेतबारी नभएको र अरुको काम गरेरे जीवन धान्न मुस्किल भएपछि कामको खोजीमा शहर पसेको उनी सम्झन्छिन् ।

आफूले पढ्न नपाएपनि छोरालाई राम्रो शिक्षा दिनुपर्छ भन्ने सोचका साथ काठमाडौं आउँदा सुरुमा साह्रै कष्ट भोगेको उनी स्मरण गर्छिन । ‘सुरुमा नाङलो पसल गरेर सडकपेटीमा बसेँ । त्यहाँबाट छाक टार्न समेत कठिन भयो’ उनी भन्छिन् ‘पछि त्यो काम छाडेर चटपटे बेच्न थाले । चटपटे बेचेर कमाएको पैसाले श्रीमानलाई विदेश पठाएँ ।’ श्रीमान रोजगारीका क्रममा कतार गएपछि आवश्यक वातावरण नभएपछि स्वदेश फर्केको उनी बताउँछिन् ।

ज्ञानीमाया भने अहिले मकै पोलेर बेच्दै आएकी छिन् । उनले अंगालेका अरु व्यवसाय भन्दा यो सहज लागेको छ । उनले किन्दा एउटा घोगाको १०–१२ रुपैयाँ पर्छ, पोलेर बेच्दा ३० रुपैयाँसम्म लिने गरेको उनी बताउँछिन् । सानोको २५ र ठूलोको ३० रुपैयाँ लिने गरेको उनको भनाइ छ ।

खर्च कटाएर दैनिक एक हजार बचत हुने उनी बताउँछिन् । उनी भन्छिन् ‘मासिक ३० हजार मकै बेचेर नै बचत हुन्छ । विदेश गएका उनका श्रीमान पनि म्यानपावरले धोका दिए पछि बीचैमा स्वदेश फर्के विदेश गएको लगानी समेत व्यर्थमै डुब्यो । श्रीमान अहिले गाडी सिक्दै हुनुहुन्छ । विदेश जानुभन्दा नेपालमै केही गर्दा राम्रो जस्तो लाग्न थालेको छ ।’

ज्ञानीमाया आफ्नो कमाईबाट पूर्ण सन्तुष्ट छिन् । उनी स्वदेशमा पनि काम गर्न सकिन्छ भन्ने उदाहरणको पात्र बनेकी छिन् ।

116 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank