तेइसौँ शताब्दीमा – भूपिन 

मङ्लबार, फाल्गुन १४, २०७५



बागलुङ बलेवा जन्मथलो रहेर पोखरा हुँदै चितवनमा कर्मथलो बनाएका भुपेन्द्र खड्का उर्फ कवि भूपिन चितवनस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । उनका ‘चौबीस रिल’ (निबन्ध कृति), ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’, ‘हजार वर्षको निद्रा’, ‘सुप्लाको हवाईजहाज’जस्ता प्रकाशित कविताकृतिहरू  हुन् ।

निबन्ध लेखनबाट आख्यानतर्फ ढल्किएको बताउने कवि भूपिनको निबन्ध सङ्ग्रह ‘चौबीस रिल’ उत्तम शान्ति पुरस्कारबाट पुरस्कृत भइसकेको छ। कवि भूपिन उपन्यासकारको रूपमा ‘मैदारो‘मार्फत पाठकबीच आउदै छन् । यथार्थवादी सामाजिक विषयवस्तुलाई कल्पना र विम्बात्मकरूपमा प्रस्तुत गरिएको ‘मैदारो’लाई बुक-हिल पब्लिकेसनले बजारमा ल्याउन लागेको हो ।

प्रस्तुत: छ उनको कविता तेइसौँ शताब्दीमा:


तेइसौँ शताब्दीमा:

समयको सुदूर जंगलमा बाँचिरहेका 
लोपोन्मुख मानिसहरू हेर्न
बाघहरू आए दुर्बिन र क्यामेरा भिरेर ।
निकुन्जको टिकट काटे
र छिरे जंगलभित्र जिप सफारीमा ।

भग्नावशेष कंक्रिटको जंगलमा कतै मानिस नभेटेपछि
निरास डमरूले सोध्यो बाउलाई
‘अरबौँ मानिसहरू
अचानक कसरी लोप भए पृथ्वीबाट ?’
जवाफ दियो बाउले
‘छोरा, खाला, खाग, खोपडी र मासुको लागि
धेरै जनावर सिघ्याए मानिसले ।
सिघ्याए उनीहरूले-
जंगल, पानी र शुद्ध हावा
त्यसपछि सिघ्याउने बानी लाग्यो,
धर्म, रंग, विचार र जातको नाममा
सिघ्याउन थाले मानिसले एकअर्कोलाई ।’

अहिले जनावरहरू मिलेर
पृथ्वीको लोपोन्मुख जनावर
‘मानिस’को संरक्षण गरिरहेछन् ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata