अस्पतालको लापरवाहीले बच्चासहित गर्भवतीको मृत्यु भएको आफन्तको आरोप

शुक्रबार, बैशाख २१, २०७५



सुर्खेत । सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एकजना महिलाको उपचार नपाएर मुत्यु भएको छ । कालीकोट महावै गाउँपालिका–१० स्थायी घर भएकी ३५ वर्षीय मनिषा सिंहको शुक्रबार बिहान मृत्यु भएको हो ।

उनी सामान्य अवस्थामा सुत्केरी गराउनाका लागि बिहीबार बिहान ११ बजे क्षेत्रीय अस्पतालमा भर्ना भएकी थिइन् । राति १२ बजेसम्म पनि डाक्टर नआएकाले अस्पतालकै लापर्वाहीका कारण मृत्यु भएको मनिषाका श्रीमान् जगत सिंहले बताए । बिहानै अस्पताल भर्ना गरे पनि डाक्टरले कुनै वास्ता नगरेको सिंहको आरोप छ ।

छिटो सुत्केरी गराउन नर्सले सूई दिएको र पानी बग्दै जाँदा श्रीमतीको मृत्यु भएको सिंहले बताए। “बिरामीले बरु छोरा चाहिँदैन तर मलाई बचाइदेऊ भन्दा पनि अस्पतालले बेवास्ता गरेको, समयमा शल्यक्रिया नगरेको, नाक मुखबाट रगत बगेको अवस्थामा गर्भवतीको मृत्यु भएको छ,” उनले भने । उनका अनुसार अहिलेसम्म मृतक बच्चा मृतक सिंहको पेटभित्र नै रहेको छ ।

सामान्य अवस्थामै रहँदा जाँच गराउन अस्पताल आएकी श्रीमतीको गुप्ताङ्गबाट पानी बगेको भनी हात हालेर पानी पोका फुटालेर भर्ना गरेको श्रीमान्को आरोप छ । अस्पतालमा दिनभरि मनिषाले आफूलाई बचाइदिन भन्दै हारगुहार गर्दा राति १ बजेसम्म पनि डाक्टर उपचारका लागि नआएको उनको भनाइ छ ।

अस्पतालले लापर्वाही गरेको भन्दै मृतकका आफन्तले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् । उपचारमा लापर्वाही गर्नेलाई कडाभन्दा कडा कारवाही तथा मृतकका छोरा र छोरीको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने उनीहरुको माग छ ।

फोक्सोमा पानी जम्दा गर्भवतीेको मृत्युः अस्पताल

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा डम्बर खड्काले फोक्सोमा पानी जमेका कारण मनिषाको मृत्यु भएको बताएका छन् । गर्भवतीको उपचारमा अस्पतालबाट कुनै लापर्वाही नभएको डा खड्काको भनाइ छ । उनले मृतकका आफन्तले लगाएको आरोप अस्वीकार गरेका छन् । उनका अनुसार अस्पतालका कारण नभई पानी पोका आफैँ फुटेर फोक्सोमा पानी गएकाले मनिषाको मृत्यु भएको हो ।

167 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank