छिरेश्वरनाथ बम विस्फोट : बाबुछोरा सहित एक प्रहरीको मृत्यु, थप तीनको अवस्था गम्भीर

शनिबार, मंसिर २८, २०७६



धनुषा । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

घटनामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने विस्फोटमा परी घाइते भएका प्रहरी निरीक्षक अमिर दाहालको पनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ । विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो ।

गएराति १२ बजे आसपास भएको विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका थिए । घाइते दाहाललाई बीपी प्रतिस्ठान धरान ल्याउँदे गर्दा मृत्यु भएको हो ।

अन्य तीन जनाको धरानमै उपचार भइरहेको छ । घटनामा अन्य २ जना सामान्य घाइते भएको बताइएको छ । घरमुली साह मोटो रकम ऋण लगानी गर्ने साहु भएका कारण कसैले उनीहरूको हत्या गर्नकै लागि राखेको बम विस्फोट भएको हुन सक्ने स्थानीयको अनुमान छ ।

गएराति १२ बजे पश्चात भएको बम विस्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह र उनको अन्दाजी २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । बम मृतक राजेश शाहको घर बाहिरको पोलमा राखिएको कँडेलले  बताए ।

घटनाको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments