महरा पुर्पक्षका लागि कारागार चलान

सोमवार, कार्तिक १८, २०७६



काठमाडौं । निवर्तमान सभामुख एवं सांसद कृष्णबहादुर महरा अन्ततः जबरजस्ती करणी उद्योगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा राख्न आदेश दिएपछि उनलाई सोमबार डिल्लीबजार कारागार पठाइएको प्रहरीले जनाएको छ ।

अदालतको आदेशलगत्तै महरालाई थुनुवा पुर्जी दिइ डिल्लीबजार कारागार लगिएको छ । अदालतले सोमबार महराका पक्षका ३० बढी कानुन व्यवसायीको बहस सुनेपछि १० पृष्ठ लामो आदेश गरेको हो ।

जसमा उल्लेख छ, “जबरजस्ती करणीको उद्योग जस्तो गम्भीर प्रकृतिको कसुर गरेको भनी निज उपर लगाइएको अभियोग, उक्त अभियोग प्रमाणित भएको अवस्थामा कानुनअनुसार निज प्रतिवादीलाई हुन सक्ने सजायको मात्रा तथा मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ६७ मा भएको कानुनी व्यवस्थासमेतको आधारमा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाल प्रतिवादीलाई प्रस्तुत मुद्दा पुर्पक्षका लागि थुनामा राख्न उक्त संहिताको दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई कारागार कार्यालय, डिल्लीबजारमा पठाइदिनू भनी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७९ बमोजिम आदेश गरिएको छ ।”

घटना विवरण कागजात, जाहेरी दरखास्त, मौकामा कागज गर्नेहरुको बयान र तत्काल प्राप्त प्रमाणको आधारमा महरा कसूरदार हाेइन भन्न नसकिने भएकाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । यससँगै यो मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् ।

 पक्राउ परेपछि महराको अधिकांश समय नर्भिक अस्पतालमा बितेको थियो । अब भने अस्पताल लैजानैपरे वीर अस्पताल लगिने कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए । “हामीले बन्दीहरुलाई स्वास्थ्यमा समस्या देखिए सरकारी अस्पताल नै लैजाने गरेका छौं, उहाँ पनि अरु बन्दीजस्तै भएकाले अस्पताल लैजानै परेमा वीर या सरकारी अस्पताल लैजान्छौं,” उनले भने ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाही माथि बलात्कारको प्रयास गरेको आरोपमा  असोज १८ गते महरालाई सभामुख निवास बालुवाटारबाट प्रहरीले पक्राउ गरेको थियो । महराले श्वासप्रश्वासमा समस्या भएको भन्दै केहीदिन हिरासतमै अक्सिन लिएका थिए । लगत्तै उनी नर्भिक अस्पताल भर्ना भएका थिए ।

महराको अदालतले  कार्तिक १५ गते बयान लिएकाे थियाे ।  जिल्ला अदालतमा महराको बयानपछि आइतबार र सोमबार थुनछेक बहस भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च ओहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै प्रहरीले महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata