महराको बयान सकियो, थुनछेक बहस आइतबार हुने

शुक्रबार, कार्तिक १५, २०७६



काठमाडौं । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान शुक्रबार सकिएको छ । आज बिहान १२ बजेबाट शुरु भएको उनको बयान करिब ५ बजेसम्म चलेको थियो ।

काठमाडौंको बबरमहलस्थित जिल्ला अदालतमा महराको बयान थियो । जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान भएको हो ।

महराको बयान लामो भएपछि थुनछेक बहस हुन नपाएको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले  बताए । उनले भने, ‘आज बयान सकिएन । आइतबार बिहान १० बजे उपस्थित गराउने गरी छाडेका छौं ।’ बयान नसकिएपछि न्यायाधीश पाण्डेको एकल इजलासमा थुनछेकको बहस आइतबार मात्रै सुरु हुने छ । भोलि शनिवार भएकाले थुनछेक बहस आइतबारका लागि सरेको हो ।

महराले बयानमा वारदात स्थलमा नपुगेको दाबी गरेका छन् । घटना भएको भनिएको घर छेउ पुगे पनि सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान छ ।

महरालाई प्रहरीले पुनः थापाथलीस्थित नर्भिक अस्पताल लगेका छन् ।  १९ असोजमा पक्राउ परेका महरा केही दिन सिंहदरबार प्रहरी वृत्तको हिरासतमा बसेका थिए ।

तर, स्वास्थ्य अस्वस्थताको कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो । त्यसयता उनी नर्भिक अस्पतालमै छन् । महराविरुद्ध बिहीबार दिउँसो जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको थियो ।

आइतबार थुनछेक बहसपछि महरालाई धरौटीमा रिहा गर्ने, पूर्पक्षका लागि कारागार चलान गर्ने वा साधारण तारेखमा छाड्नेबारे अदालतले फैसला गर्ने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata