संघीय संसदको पहिलो प्राथमिकता कानुन निर्माण : सभामुख महरा

शनिबार, असार १६, २०७५



काठमाडौं । सभामुख कृष्णबहादुर महराले नेपालको लोकतन्त्र प्राप्तिको लडाईंमा संसदीय व्यवस्था अभिन्न रुपले जोडिएको बताएका छन् ।
६० औं संसद दिवसको अवसरमा पूर्व सांसद मञ्च नेपालले संसद भवन वानेश्वरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।

‘लोकतन्त्र प्राप्तिको लडाईंमा नेपालको संसदीय व्यवस्था अभिन्नरुपले जोडिएको छ, सभामुख महराले भने, ‘कहिले हामीले हाम्रा अधिकारहरु गुमाएका छौं, कहिले संघर्ष गरेर प्राप्त गरेका छौं । निरंकुशतासँग लड्दै कहिले भूमिगत त कहिले खुला आन्दोलन पनि गर्नुपरेको छ ।’

नयाँ संविधानले संघीय संसदको परिकल्पना गरेको भन्दै सभामुख महराले संघीय संसदको पहिलो प्राथमिकतामा कानून निर्माण रहेको बताए ।

‘अहिले संसदको मुख्य प्राथमिकता भनेको विभिन्न कानूनहरु निर्माण गर्नु रहेको छ, पूर्वसांसदहरुलाई सम्बोधन गर्दै सभामुख महराले भने, कानून निर्माणमा तपाईंहरुको सल्लाह, सुझाव र सहयोग जरुरी छ ।’

राज्यलाई जनताप्रति उत्तरदायी बनाउने र जनताको आवाज राज्यलाई सुनाउने काम संसदकै भएको बताउँदै सभामुख महराले संसदभित्र प्रतिनिधित्व नगर्ने दलको पनि आवाज अभिव्यक्त हुनु पर्नेमा सबैले ध्यान दिनुपर्ने बताए ।

२०१६ र ४६ सालको भन्दा राजनीतिक र सामाजिक विकासको हिसाबले फरक संसदीय अभ्यासमा रहेको भन्दै सभामुख महराले यहाँसम्म आइपुग्न विगतका गौरवपूर्ण संघर्षको देन रहेको बताए ।

पटक–पटक लोकतन्त्र गुमाउनु परेको इतिहास फेरि पनि नदोहोरियोस् भन्नेमा आफूहरु सचेत रहेको भन्दै सभामुख महराले संसदलाई थप बलियो, प्रभावकारी र गतिशील बनाउन पूर्वसांसदहरुको अनुभव र ज्ञान आवश्यक रहेको बताए ।

पूर्वसांसदहरु पनि संसदकै अभिन्न अंगको रुपमा रहेको भन्दै सभामुख महराले नीति निर्माण, राज्यलाई जनताप्रति उत्तरदायी बनाउन र संसदमा जनताका आवाज अभिव्यक्त हुने वातावरण बनाउने काममा सक्रिय सहयोग र सहभागिता जनाउन पूर्वसांसदहरुलाई आग्रह गरे ।
कार्यक्रममा सभामुख महराले पूर्व सांसद मञ्च नेपालले प्रकाशन गरेको स्मारिकाको विमोचन गरेका थिए ।

192 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank