राष्ट्रकवि एक सय एक वर्षमा

मङ्लबार, अशोज ७, २०७६



राष्ट्रकवि माधवप्रसाद घिमिरेले १ सय १ वर्षको शतायु पार गरेका छन् । वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तन गाउँमा जन्मिएका घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका हुन् ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् ।  घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख, प्रबन्धलगायतका विधामा कलम चलाएका छन् । १४ वर्षको उमेरमा ‘ज्ञानपुष्प’ शीर्षकमा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरेका कवि घिमिरे अहिले पनि महाकाव्य लेखिरहेका छन् ।

घिमिरेका ‘नव मञ्जरी’, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी र राष्ट्रनिर्माता खण्डकाव्य, किन्नर–किन्नरी (गीतसङ्ग्रह), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) प्रकाशित छन् । सधैं सकारात्मक सोच राख्ने र गाउँघरका भाका कवितामा ल्याउने कारणले आफुमा असीम उत्साह सृजना हुने कुरा स्वयं कवि घिमिरेले पनि बताउँदै आएका छन् ।

घिमिरे दीर्घजीवन ज्युने साहित्य सर्जकमध्ये एक हुन् । अघिल्लो वर्ष उनको स्वास्थ्यमा समस्या आएको थियो । भारतबाट उपचार गरेर फर्किएपछि उनको स्वास्थ्य अवस्था राम्रो रहेको पारिवारिक सदस्यहरूले बताएका छन् ।

जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना

घिमिरेको जन्मदिनका अवसरमा विभिन्न व्यक्तित्वहरूले उनको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै घिमिरेबाट देशले अझै सिर्जना प्राप्त गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले एक ट्विट गर्दै लेखेका छन्–नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस् ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata