वरिष्ठ साहित्यकार दीक्षित प्रति श्रद्धाका दुई शब्द

बिहिबार, साउन ३०, २०७६

- सीता ओझा 



” जन्मेपछि मानिसले मृत्युसँग हार्नै पर्छ ।  तर कतिपय मानिसहरू मृत्युसँग हारेर पनि जिउँदै हुन्छन ।”

यो सत्यलाई हामीले नकार्न सक्दैनौं । कतिपय बेला मानिसले  मृत्यु स्विकार्न कठिन हुन्छ । सायद त्यो मृत्यु भन्दा पनि उच्च सामाजिक दायित्व र  सामाजिक  कर्तव्यबोधको कारण ती मानिसलाई सामाजिक र मानवीय पक्षबाट धेरै मानिसहरू भन्दा  निकै माथि उठाएर जीवीत बनाइ दिन्छन् । त्यसैले त कतिपय मानिसको मृत्यु बाच्नेहरूका लागि निकै पिडादायी बन्ने गर्दछन ।

वि स २०१४ सालदेखि पत्रकारितामा सामेल भएका सामाजिक अगुवा दीक्षितले लगभग चालीस वर्ष सम्म पत्रकारिता क्षेत्रको गहिराइमा डुबेर काम गरे । उनले सम्पादन गरेको ‘समिक्षा’ नामको पत्रिकाले  देशभर सत्य र सहि  सुचना र समाचारको सम्प्रेषण गर्न सफल रह्यो । त्यहि कारण उनी पञ्चायको नजरमा बक्रदृष्टीमा परेका व्यक्तिको रूपमा परिचित भए ।  पञ्चाय  व्यवस्था भित्र देखिएका  विकृति  विरुद्धका विषयलाई  समाचार बनाउन उनले समस्या मानेनन् । त्यहि कारण दिक्षितलाई विशुद्ध पत्रकारितामा पर्ने आचरण र व्यवहारका धनी व्यक्तित्वको रूपमा सबैले चिन्ने मौका पाए ।

उनी नेपाली साहित्यका नक्षत्र थिए ।  माधवी उपन्यास मदनमणिले  वैदिककाल भित्र पनि  उतरवैदिक कालिन भारतीय समाजको कथामा टेकेर लेखेको उपन्यास हो । यो उपन्यासमा एउटी महान नारी जसको त्याग, बलिदान र प्रेम सम्बन्धको कारूणीक विषयलाई सम्बोधन गरेको छ  । साथै तात्कालिन समाजमा रहेको दासत्वको विद्रोहको घटनासँग जोडेर चित्रण गरेको कथा वस्तु छ ।

पुर्वीय सभ्यता, धर्म, संस्कृति, अर्थव्यवस्था र तात्कालिक समाजको यथार्थतामा अडिएको निकै महत्त्वपूर्ण कृति हो – माधवी । साहित्यक जगतमा योसँग तुलना गर्न योग्य अर्को उपन्यास देखिएको छैन भन्ने चर्चा बारम्बार चल्ने गरेको छ । माधवी उपन्यासका बारेमा मदनमणी स्वयंले भनेका पनि छन , ” नेपालमा मात्रै होइन भारतीय साहित्यमा पनि यति धेरै वैदिक मन्त्रहरू ( १४४ वटा ) उल्लेख गरेको अर्को उपन्यास छैन ।

दास विद्रोहसँग जोडेर लेखिएको बहुचर्चित उपन्यास माधवी नै हो  । त्यहि माधवी उपन्यासले वि स २०३९ सालमा मदन पुरस्कार प्राप्त गर्यो । मदन पुरस्कार प्राप्त गर्नुको साथै हरेक पटकको प्रकाशनको एक दुई महिनाको  बीचमा त्यो पुस्तक पाठकहरूले खरीद गर्न नसक्ने अवस्था बन्यो । यहि क्रम अहिलेसम्म नै चलिरहेको छ । हालसम्म माधवीको छैटौं संस्करणको रूपमा साझाले प्रकाश गरि बजारमा ल्याइसकेको छ  ।

त्यस्तै दीक्षितको ” कसले जित्यो कसले हार्यो ” कथा वि स २०१९ सालमा  रूपरेखा पत्रिकामा प्रकाशित भयो ।  उनले जीवन्त र यथार्थपरक थुप्रै कृतिहरू नेपाली समाजमा छोडेर गएका छन । उनी बहुआयामिक व्यक्तित्वका धनी थिए  भन्ने कुरा उनका उपन्यास, कथा, संस्मरण,  निबन्ध  आदी लेखन कला र कृतिले नै हामीलाई चिर-परिचित गराएको छ । यसरी हेर्दा मुख्य कृतिका रूपमा माधवी उपन्यास वि स २०३९, निबन्धहरू हाम्रा ती दिन वि स २०२९,चारैवेति वि स २०४४, त्यो युग संग्रह वि स २०४७, हाम्रा ती दिन र संस्मरणमा म रूदैं बिर्सन्छु वि स २०२७ प्रमुख रूपमा प्रकाशित भएका देखिन्छन् ।

माधवीमा के छ त ? 

गालवसँग पहिलो भेटमै प्रभावित भएकी माधवी गालवको उद्धेश्य प्राप्तिको सहयात्रामा उसैको प्रेममा डुव्न पुगेकि माधवीले परिस्थितिलाई संयमतापूर्वक परिचालित गर्छिन । एकातिर बुवाले उसको जीवनको हत्या गर्छ भने अर्कोतिर केशशल्का बनेर चार /चार पटक अलगअलग पुरूषबाट सन्तान जन्मन्छन ।  तर हरेक पटक आफ्नोले प्रेम गरेको गालवबाट नै उसको मातृत्वको हत्या हुन्छ ।  जन्मनासाथ शिशुलाई बाबुको जिम्मा लगाएर सुत्केरी अवस्थामै गालवले माधवीलाई पुनः अर्को पुरूषसँग सहवास गर्न र अर्को सन्तान जन्माउन बाध्य बनाउछ । माधवीबाट उसलाई चारवटा सन्तान जन्माउन निकै हतार हुन्छ ।  जसको कारण गालवले चारवटा श्यामकर्ण घोडा प्राप्त गर्न सकोस् र गुरु ऋणबाट मुक्त हुन सकोस । माधवीको सुत्केरी अवस्था र कठोर यात्रा, सन्तानबाट छुटिँदा छातीबाट बगेको सहस्रधारा दूधको पीडा, मातृत्यको व्याकुलता र मातृहृदयको मार्मिक कथा समेटेको उपन्यास हो – माधवी ।

माधवी  महिलाको प्रेम र समर्पणको  जीवनसँ जोडिएको मार्मिक कथा हो । गालवलाई सर्वस्व ठानेर प्रेम गर्दा पनि आफ्नु प्रेम नपाउदा, तिरस्कृत हुनुपर्दा र आफुलाई अर्को पुरूषबाट भोग गराउदै सन्तान जन्माउन लगाउने, जन्मेका सन्तानहरू आफुबाट अलग्याएर आफ्नो महत्वकांक्षा गर्ने प्रेमिबाट पिडित माधवीले  हरेक पटक छोरा जन्माउन अरूसगँ बेचिनु पर्ने बाध्यता, एउटी प्रेममा डुबेकी महिलाले सर्वस्व ठानेकी आफ्नो प्रेमिबाटै जीवनभर दास भएर पनि प्रेमिसँगको प्रेममा वलभर तड्पिन्छे । कुनैदिन उसको सोचमा बदलाव आएर जीवनसाथीको रूपमा स्विकार्ने, अधुरो प्रेम पूरा गर्ने कल्पनामा माधवीले जुहिको माला उन्छे  र एक एक थुङ्गा राख्ने खाली ठाउँ राख्दै गालवलाई भन्छे , ”  – – तिमी र मसँगै मिलेर एक दिन यो माला पूरा गरौंला !  “

तर उससँगै माला उन्ने रहर पूरा हुदैन  । हरेक पटकका आशाहरू निरासामा बदलिन्छन । आफ्नो उदेश्य पुराभएपछि गालवले कयाै पटक चटक्कै छोडिदिन्छ ।  उपेक्षा गर्छ ।  पीडा दिन्छ । गालव नारीप्रति कहिल्यै उदार हुन सक्दैन  । यसरी हेर्दा पुरूषहरू न माधवीको समयमा पुरूषले महिलालाई बुझ्यो, न राधा र सीताको समयले महिलालाई चिन्यो । सृष्टिका लाखौं लाख दिन, रात, महिला र वर्ष विते तर पुरूषले महिलालाई चिन्दै चिनेनन् । त्यहि आत्मबोधले अहिले पनि पुरूषहरूको मस्तिष्कमा गडेको छ । सामाजिक संरचनामा मौलाएका यिनै कुरा अहिले पनि हामीले भोगिरहेका छौ ।

जब श्यामकर्णको सट्टा चारजना पुरूषबाट चार पुत्र जन्माएर गालवलाई ऋणबाट मुक्त गर्छे ।  अनि गालवसँग बिहे गरेर सुखद जीवन विताउने कल्पनामा प्रफुल्ल बन्दै पिताको घरतिर लाग्छे । त्यहि यात्राको क्रममा साँझ परेको बेला बल्ल गालवले माधवीसँग चुम्बन माग्छ । सयौं पुरूषहरूसँग बेचिएकी माधवी आफ्नो प्रेमी प्रतिको प्रेम सुम्पन खोज्छे । तर गालवको पुरूषत्वले उसको प्रेमको अनुरागलाई तिरस्कार गर्छ र बिस्तारै माधवीबाट टाढा हुदै जान्छ र स्वयंवरमा भाग्छ । स्वयंवरबाट गालव भागेको पीडा सहन नसकेर बल्ल माधवीले विद्रोह गर्छे । संसार र आफ्नै शरीरदेखि घृणा गर्छे । वैष्णवी रूप धारण गरेर कठोर यात्रा  र वैराग्यतिर भौंतारिन्छे । देसदेसावरको यात्रामा निस्कन्छे । उसको त्यो विद्रोह सामाजिक परम्परा, नारी शोषणको विरूद्द र अस्तित्व र समानताको पक्षमा हुन्छ । माधवीलाई तिरस्कार गरेपछि गालवलाई माधवीमाथि अपराध गरेको कुरा बोध हुन्छ । गालव तनावले छट्पटीदै – तड्पिदै माधवीलाई खोज्दै भौंतारिन्छ । वर्षौको यात्रा पछि को भेट हुन्छ तर त्यसबेला माधवीका सबै रहरहरू मरिसकेका हुन्छन । जीवनको परिभाषा नै माधवीले बदलि सकेकी हुन्छे ।

पुरूषको अहमताले महिलामा भएको बौद्धिकता,त्याग र बलकुरालाई कहिल्यै चिनेन । पुरूषले महिलाबाट मात्रै  आफुप्रतिको कर्तव्य र सेवा खोज्यो, भोगको वस्तु बनायो । नारीलाई इसारामा चल्ने नर्तक / कठपुतली बनायो । त्यो भन्दा माथी उठ्न खोज्नेलाई वैदिक कालको गालवले माधवीलाई दिएको अमानवीय पिडाले मर्माहत बनाउन बाहेक केही जानेन । गावलले आफ्नो यौनिक प्यास मेटाउने निर्जीव वस्तु ठाने झै अझै महिलाको यौनिकतामा अनेकौं असुरक्षाहरू जन्मेका छन । परिणाममा सात महिनाकी बालिकादेखि सय वर्षकी वृद्ध हजुरआमा पनि बलात्कृत हुन परेको छ ।

यस्ता समानता र सामाजिक न्यायपक्षधर स्रष्टा मदनमणि दीक्षित प्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा पर्न गएको मानविय क्षति प्रति समवेदना ।

०००

 सीता ओझा महिला अध्ययन केन्द्रकी  अध्यक्ष हुन्  । 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata