मदन भण्डारी राजमार्ग मापदण्डविपरीत

मङ्लबार, पुस १५, २०७६



सरकारले उच्च प्राथमिकतामा राखेको मदन भण्डारी राजमार्ग सरकारी मापदण्डविपरीत निर्माण भइरहेको छ। सरकारले बनाएका नीतिनियम उल्लंघन गर्दै सडक निर्माण भइरहेको पाइएको छ।

सडक निर्माणअघि अनिवार्य रूपमा गरिनुपर्ने वातावरण प्रभाव मूल्यांकन (ईआईए) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नगरी राजमार्गको पूर्वीखण्ड हेटौंडा–चतरा भेगको काम अघि बढाइएको छ।

कमजोर र संवेदनशील चुरे पहाड कटान गर्दै सडक निर्माण गरिएकाले भू–क्षयको जोखिम शुरु भएको र दीर्घकालसम्म यस्तो समस्या जारी रहने नेपाल वातावरण पत्रकार समूहले गरेको स्थलगत अध्ययनले देखाएको छ।

वर्तमान सरकारले दुई वर्षअघि घोषणा गरेको यो राजमार्ग राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत छ।

झापाको बाहुनडाँगीदेखि डडेलधुराको रुपाल जोड्ने यो मार्ग करिब एक हजार दुई सय किमी लामो हुनेछ । चुरे र भित्री मधेश छिचोल्ने राजमार्गका विभिन्न खण्डको निर्माण धमाधम भइरहेको छ।

पूर्व–पश्चिम राजमार्गको विकल्पमा रूपमा व्याख्या गरिएको मदन भण्डारी राजमार्गको चतरा–हेडौंडा खण्ड ११ मिटर चौडाइ फराकिलो हुने गरी निर्माण भइरहेको छ।

धरानको चतरादेखि हेटौंडाको करिब तीन सय किमी सडक निर्माण भइरहँदा ८५ प्रतिशत हाराहारीको पूर्वाधार सम्पन्न भएको पाइएको अध्ययन टोलीका संयोजक विश्वमणि पोखरेलले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments