मेरो नजरमा मदन र जीवराज

बिहिबार, जेष्ठ ३, २०७५

- मोदनाथ प्रश्रित



जीवराजसँग संगत

वि.सं. २०२२ सालतिर देशका विभिन्न भागमा २०–२२ वटा कलेज खोलिएका थिए । तर ती कलेजबाट परीक्षा दिने अनुमति नपाएकाले ती सवै कलेजका विद्यार्थीहरूले ‘हामीलाई परीक्षा दिने बाटो खोलिदे’ भन्ने माग गरिरहेका थिए । तर सरकारले उनीहरूको माग पूरा गरिदिएको थिएन । हामीले पनि त्यो मागलाई आन्दोलनकै रूपमा अगाडि बढाउने निस्कर्षका साथ पर्चा छाप्यौँ र सवैतिर छ¥यौँ । हाम्रा विरोधीहरू पनि स्वतः हामी विरुद्ध सक्रिय थिए । उनीहरूले ती पर्चा मैले पढाउने स्कूलमा पनि लगेर छरिदिएछन् ।

तत्कालिन अञ्चलाधीशले ‘मोदनाथले पढाउने स्कूलमा पर्चा भेटियो, पर्चा उसैले छापेको हो’ भनेर मलाई र जीवराज आश्रितलाई प्रहरीले पक्र्यो र हामी विरूद्ध राजकाजको मुद्दा चलायो र तीन वर्षको जेल सजाय तोकेर जेलमा थुन्यो । जेलमा एक वर्ष बसियो ।

जीवराजजी पहिलेदेखि नै कम्युनिष्ट पार्टीको सदस्य हुनुभएको थियो । उहाँले पार्टी संगठनमा र मैले सांस्कृतिक फाँटमा काम गरिरहेका थियौँ । त्यसपछि हामीले सर्वोच्च अदालतमा रिट दायर ग¥यौँ । अदालतको आदेशमा १ वर्षपछि हामी रिहा भयौँ । त्यसपछि अझ गहिरिएरै काम गर्नुपर्छ भनेर हामी लाग्यौँ ।

मदनसँग भेट

काठमाडौँबाट रिहा भएपछि म फेरि भैरहवा पुगेँ । लुम्बिनी कलेजले फेरि काम थाल्नुपर्छ भनेको थियो । तर त्यहाँ पढाएर बस्ने स्थिति नै थिएन । पुष्पलालले ‘बनारस आउनुस’ भन्नुभयो । म बनारस पुगेपछि उहाँले ‘तपाईले सांस्कृतिक फाँट हेर्नुपर्छ’ भनेर जिम्मेवारी दिनुभयो । हामीले ‘नेपाली जनवादी क्रान्तिकारी सांस्कृतिक संघ’ बनायौँ ।

त्यसको लागि हामीले ‘नयाँ जनवादी संस्कृति’ दस्तावेज पनि तयार पा¥यौँ । त्यो प्रकाशित पनि भएको छ । २०२६ देखि २०३२ सालसम्म म भारत बनारसमै रहें । त्यहाँबाट विभिन्न जिल्लामा जाँदै, प्रशिक्षण चलाउँदै सांस्कृतिक संगठनको काम अघि बढायौँ । त्यति नै बेला हामीले बनारसमा साहित्य सम्मेलनको आयोजना गर्यौं ।

त्यही क्रममा ‘मदन भण्डारी वृन्दावनबाट यहीं पढ्ने गरी आएका छन्, उनले कविता लेख्छन्’ भन्ने खवर पाइयो । हामीले उहाँलाई बोलायौँ । उहाँमा कम्युनिष्ट विचार पलाइसकेको रहेछ । उहाँले बडो मीठो गरी राम्रा कविता सुनाउनुभयो । उहाँले मलाई ‘मैले एउटा उपन्यास लेखेको छु, हेरिदिनुहोस्’ भन्नुभयो ।

मैले हेरेँ र केही सुझाव पनि दिएँ । हामीले उहाँलाई पार्टीमा आबद्ध हुन आग्रह गर्‍यौँ । उहाँले ‘मेरा भाइबहिनीहरू धेरै छन्, त्यसैले म अहिले नै पार्टीमा लाग्न सक्दिनँ’ भन्नुभयो । मदनको प्रतिभा देखेर हामीले धेरै कोसिस गरी उहाँलाई सांस्कृतिक संघको सदस्य बनायौँ । संस्कृतमा आचार्य गरिसकेपछि मदन घर जाने निचोडमा पुग्नुभयो ।

मदनलाई पार्टीमा आवद्ध गराउने उद्देश्यसहित म पनि नेपाल फर्किएँ । मदनका परिवार ताप्लेजुङबाट झरेर झापा र मोरङको सीमाना इटहरामा बस्न थाल्नुभएको रहेछ । उहाँका बा–आमा बुढा–बुढी भईसक्नु भएको रहेछ र काम गर्ने मान्छे नभएर जग्गा जमिन पनि बाँझै रहेछ । मदनका बाले मलाई देखाएर ‘उहाँ को हो’ भनि सोध्दा ‘मलाई बनारसमा पढाएका गुरू हुनुहुन्छ’ भन्नुभयो । उहाँले घरमा पुगेपछि पनि ‘पारिवारिक अवस्थाले म अहिले नै पार्टीमा लाग्न सक्दिनँ’ भन्नुभयो । मैले भने ‘राजनीतिक फाँटमा काम नगरेपनि सांस्कृतिक फाँट हेर्नुहोस्’ । सांस्कृतिक फाँट हेर्दै जाँदा उहाँमा पनि सक्रियता बढ्दै गयो ।

rajniti

मेरो मदनको घरमा जाने–आउने क्रम चल्दै रह्यो । एक दिन रातभर जीवराजजी र मैले मदनका बालाई सम्झायौँ । उहाँले भन्नुभयो ‘तपाईलाई मेरो छोराले गुरू भन्छ, गुरूले नै यसरी सम्झाएपछि, त खुशीसाथ जा बाबु’ भन्नुभयो । त्यसपछि मदन क्रमशः पार्टीमा सक्रिय हुँदै जानुभयो ।

सहयात्री नेताको मूल्यांकन 

मदन भण्डारी
तेजिलो दिमाग, राजनीति धार बुझ्न सक्ने व्यक्तित्व हुनुहुन्थ्यो मदन । सबैलाई मिलाएर लैजान सक्ने क्षमता उहाँमा थियो । मदन भएको भए पार्टीमा सायद गुटगत भावना पनि विकसित हुने थिएन । नयाँ विषय ल्याउन सक्ने र त्यसलाई स्पष्ट रूपमा बुझाउन सक्ने क्षमता मदनमा थियो । भाषणकला उहाँको बेजोड थियो ।

जीवराज आश्रित
जीवराज संगठनमा निकै कुशल हुनुहुन्थ्यो । कार्यकर्ताहरूलाई अनुशासनमा राख्न उहाँ निकै कुशल हुनुहुन्थ्यो । उहाँको उपनाम पनि ‘कुशल’ नै थियो ।

 श्रद्धा लाग्ने नेपालका नेताहरू को–को हुन् ?
पुष्पलाल, मदन भण्डारी, जीवराज आश्रित, मनमोहन अधिकारी, नेत्रलाल आदिलाई श्रद्धा गर्छु । कांग्रेसमा विपी कोइराला र गणेशमानको महत्व बुझेको छु । एमालेमा केपी ओली, माधव नेपाल, वामदेव गौतमहरू र युवा पुस्ताका सक्रिय साथीहरुबाट विशेष आशा गरेको छु ।

कुराकानीमा आधारित

हामीले त्यति प्रयत्न नगरेको भए, यो परिवर्तन हुने थिएन

300 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank