लकडाउन

बिहिबार, चैत्र २०, २०७६

- रूप रसाइली



पुरै जीवन जङ्गलको लकडाउनमा बिताएका भेडी गोठाले
पुरै जीवन साहुको लकडाउनमा बिताएका मेरा हली बा
र,
पुरापुर जीवन पृत्रिसत्ताको लकडाउनमा बसेकी मेरी आमा
उनीहरूको जीवनमा कहिल्यै अवसरको पल आएन
उनीहरूको जीवनमा कहिल्यै रहरको पल आएन
र त
तोकिने छैन उनीहरूको जीवनमा कहिल्यै मुक्तिको पला

रामलाई चौध वर्ष कति वर्ष झैँ लाग्यो कुन्नि !
भेडी गोठाले मेरा बा र मेरी आमालाई
यो जुनी कति जुनी झैँ लाग्दो हो
मलाई चौध दिन चौध जुनी लागिरहँदा

गोठालोले बिहानी,मेरा बाले खेत
र,
मेरी आमाले कुर्कुच्चा चिर्न बाँकी नै छ

यस्तैमा
गाउँ फर्केका केटाकेटीहरूको हल्ला तोड्दै
कतै पारिबाट एकसुरको आवाज आइरहेछ
कालो कागले खिर्रोको बोटमा बसेर बोलिरहेछ
-राम- नाम  सत्य, राम- नाम  सत्य।

को होला
जो पुनः जन्म मृत्युको लकडाउनमा पर्दैछ
पुरे – माटोको, बगाए-गङ्गाको, जलाए -हावाको।

रूप रसाइली ‘पुछार घरे’
कास्की घान्द्रुक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments