लता मंगेस्करको मृत्युको समाचार झुटो

शुक्रबार, कार्तिक २९, २०७६



एजेन्सी । प्रख्यात एवम् सम्मानित पार्श्व गायिका लता मंगेशकरको मृत्युको भ्रामक समाचार यतिबेला फेसबुक, ट्विटरलगायत विभिन्न सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तर, उनी जीवित रहेको र उनको अवस्था सुधारोन्मुख अवस्थामा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सास फेर्न गाह्रो भएपछि ११ नोभेम्बरमा उनलाई मुम्बईस्थित ब्रिच केन्डी हस्पिटलमा भर्ना गरिएको थियो । उनको मृत्यु भएको भ्रामक समाचार भाइरल भएपछि विज्ञप्ती जारी गरेर त्यसको खण्डन गरिएको हो ।

उनको अवस्था सुधारोन्मुख रहेपनि पूर्णरुपमा ठिक हुन केही समय लाग्ने अस्पतालले बताएको छ । ९० वर्षिया मंगेशकर हाल अस्पतालको आर्ईसीयू कक्षमा उपचाररत छिन् ।

‘लता दि’को अवस्था सुधारोन्मुख रहेको छ । कृपया यस्ता भ्रामक समाचार फैलाउन काम नगर्नुहोस् । बरु सबैजना मिलेर वहाँको शिघ्र स्वास्थ्य लाभको कामना गरौं,’ विज्ञप्तीमा भनिएको छ ।

‘वहाँले धेरै लामो समयदेखि गीत गाइरहनु भएकाले फोक्सोमा केही समस्या देखिएको छ । तर, वहाँ कुशल योद्धा हो । स्वास्थ्यविरुद्धको यो लडाई वहाँले जित्नु हुनेछ । वहाँ डिस्चार्ज भएर घर फर्किएपछि तपाईहरुलाई थप जानकारी दिने छौं,’ पारिवारिक स्रोतद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

मंगेशकरले सन् १९४२ देखि व्यावसायिक रुपमा गीत गाउन थालेकी हुन् । ७७ वर्षदेखि निरन्तर सक्रिय रहेपनि पछिल्लो समय बढ्दो उमेर र बिग्रदो स्वास्थ्यका कारण उनले फुटकर गीत मात्र गाइरहेकी छिन् ।

सन् १९४२मा गाउन शुरु गरेकि उनले एक हजार भन्दा बढी बलिवुडका चलचित्रहरूमा ३६ भाषाहरूमा स्वर दिएकी छिन। उनी आशा भोसले, ह्रिदयनाथ मंगेशकर, उशा मंगेशकर र मीना मंगेशकरको दिदी हुन।

भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् । उनले कैयौं नेपाली गीत पनि गाएकी छन् । मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमा दाखिल थिईन।

उनले स्वर दिएको हिन्दी गीतको पूर्ण एल्बम २००४ को ‘वीर–जारा’ थियो । याश चोपडाद्वारा निर्देशित सो चलचित्रका सबै गीत सुपरहित भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata