लोक सेवा सम्बन्धी रिटमाथिको सुनुवाइ स्थगित

बुधबार, असार ११, २०७६



काठमाडौं । सर्वाेच्च अदालतमा लोकसेवा आयोगको विज्ञापन विवादको सुनुवाई स्थगित भएको छ ।

लोकसेवा विज्ञापनमा विवाद देखा परेपछि सर्वाेच्च अदालतमा चारवटा रिट परेका थिए । गत जेठ १५ गते ५ सय १५ स्थानीय तहका ९ हजार १ सय ६१ पदका लागि आब्हान गरेको विज्ञापन समावेशी र कानून सम्मत नभएको भन्दै सर्वाेच्च अदालतमा रिट परेका थिए । विभिन्न चारवटा रिटलाई एकै ठाउँमा राखेर बुधबार हुने भनेको फैसला स्थगित भएको हो ।

न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले बुधबार अन्तरिम आदेशले राज्य व्यवस्था समितिलाई सूचना नपुगेका कारण देखाउँदै सुनुवाइ स्थगित गरेका हुन। न्यायाधीशद्वयको इजलासले अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको छ ।

एउटा रीटमा राज्य व्यवस्था समितिलाई विपक्षी बनाइएको छ । तर अन्तरिम आदेशको छलफलका लागि समितिका प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्नेमा सूचना नै नपुगेकाले बुधबार सूचना दिन आदेश भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

अब उक्त रिट माथिकाे सुनुवाई आइतबार हुने भएको छ । अदालतको सुनुवाई लम्बिए पनि लोकसेवा आयोगले भने असार १७ गतेसम्म डबल दस्तुरमा फारम भर्न मिल्ने भन्दै यस अघि नै सुचना जारी गरिसकेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata