लोकसेवा आयोगको विज्ञापन तत्कालका लागि नरोकिने

बुधबार, जेष्ठ २९, २०७६



काठमाडौं । लोक सेवा आयोगको विज्ञापन तत्काल नरोकिने भएको छ । जेठ १५ गते स्थानीय तहका लागि एकै पटक ठूलो मात्रामा लोकसेवा आयोगले विज्ञापन आब्हान गरेको थियो ।

विज्ञापन समावेशी नभएको भन्दै चौतर्फी विरोध भयो । गत सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिए पनि लोकसेवा आयोगमा आवेदन दिने क्रम चलिरहेको छ ।

५ सय १५ स्थानीय तहका ९ हजार १ सय ६१ पदका लागि आब्हान गरेको विज्ञापनका लागि हाल सम्म करिब एक लाख भन्दा बढीले आवेदन फारम भरिसकेका छन । संसदको राज्य व्यवस्था तथा सुशासन आयोगले विज्ञापन तत्कालका लागि रद्ध गर्न सरकारलाई निर्देशन दिएको भए पनि आयोगले भने आवेदन लिने कार्य जारी राखेको छ ।

संसदीय समितिले निर्देशन दिए पनि आयोगको बैठकले थप निर्णय नगरेकाले आवेदन प्रक्रिया नरोकिएको लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । उनले भने, ‘आयोगको बैठकले थप निर्णय नगर्दासम्म आवेदन लिने क्रम चलिरहन्छ। यदि रद्द गर्ने निर्णय भयो भने आवेदकले बुझाएको शुल्क फिर्ता हुन्छ’।

लोकसेवा विवादबारे सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि निर्णय गर्ने प्रष्ट पारेका छन । बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘समितिले एक ढंगले निर्देशन गर्‍यो । सरकारले एक खालले आफ्नो भनाइ राखिराखेकै छ । प्रधानमन्त्री जी आएपछि छलफल गरेर सकारात्मक निष्कर्षमा पुग्छौं ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank